चार्ल्स शोभराज सर्वस्वसहित जन्मकैद


भक्तपुर, आश्विन १ – अन्तराष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराजलाई बुधबार भक्तपुर जिल्ला अदालतले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ । २०३२ पौष ६ गते क्यानेडेली नागरिक लरेन्ट क्यारिरेको हत्या अभियोगमा जिल्ला अदालत भक्तपुरमा मुद्धा चलिरहेको थियो ।

मुद्दा खेपिरहेका शोभराज अदालतमा उपस्थित हुन नमानेपछि जिल्ला अदालतले वैतनिक कानुन व्यवसायी हरि राउतलाई नियुक्त गरी फैसला सुनाइएको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले बताए । यो मुद्दाको सुनुवाईको सुरुदेखि उपेक्षा गर्दै आएका उनी फैसला सुन्न समेत उपस्थित भएनन् । लरेन्टको हत्या गरी लासको लिङ्ग समेत पहिचान गर्न नसक्ने अवस्थामा भक्तपुर चित्तपोल-६ पँलासेमा फ्याकेको थियो ।

यसअघि शोभराज ०३२ पौष ८ मा अमेरिकी नागरिक कोनिजो ब्रोनिजको हत्या गरेको अभियोगमा कर्तव्य ज्यान र जाली राहदानी मुद्धामा जगन्नाथ देवल कारगार ललितपुर कैद भुक्तान खेपिरहेका छन् ।