कास्कीमा सडक वालवालिकाको संख्या १११


सन्देश श्रेष्ठ
पोखरा, ३० भदौ
कास्की जिल्लामा १८ वर्ष मूनिका सडक वालवालिकाको संख्या १११ रहेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला वालकल्याण समितिले हिजो एक प्रतिवेदन सार्वजनिक गर्दै १ सय ९ जना सडक वालक तथा २ जना सडक वालिका रहेको तथ्यांक सार्वजनिक गरेको हो । जसमा अधिकांश १० देखी १४ वर्ष भित्रका रहेको जनाईएको छ ।

समितिले हिजै वालमैत्री स्थानिय शासन कार्यान्वयनको अवस्था र सरोकारवालाको भूमिका विषयक सार्वजनिक सुनुवाई गरेको छ । कार्यक्रममा स्थानिय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका लगायतका सरोकारवाला निकायका प्रमुखहरुले वालवालिकाका लागि १० प्रतिशत बजेट छुट्याउनै पर्ने भएपनि त्यस्तो गर्न नसकेको स्वीकार्नुभएको थियो । उहाँहरुले अन्य क्षेत्रमा बजेट अपुगका कारण वालवालिकाको क्षेत्रमा कटौति गरेर लगानी गरिरहेको बताउँदै अब १० प्रतिशत बजेट अनिवार्य रुपमा वालवालिकाकै क्षेत्रमा छुट्याउने प्रतिबद्धता जनाउनुभएको समितिका अध्यक्ष भरतराज वरालले रेडियो अन्नपूर्णलाई जानकारी दिनुभयो ।

यसैबीच, ‘सभासदलाई हाम्रो पत्र’ पत्र लेखन प्रतियोगितामा प्रथम भएकी महेश्वरी निमावि कास्की पुम्दीभुम्दीकी रोजिना वराललाई आइतबार पुरस्कृत गरिएको छ । सो अवसरमा पुरस्कृत वरालले आफ्नो प्रथम भएको पत्र वाचन गर्दै सभासद रविन्द्र अधिकारीलाई पत्र हस्तान्तरण गरेकी थिईन् ।

त्यस्तै, आइतबारै क वर्गमा पर्न सफल कास्कीका एसओएस. वालग्राम गण्डकी, थ्री एञ्जल्स नेपाल र हिमाली वालकल्याण संरक्षण मञ्चलाई पुरस्कृत गरिएको थियो । साथै सामुदायिक विद्यालय तथा वालगृहबाट यस वर्षको एसएलसीमा कास्की भरीबाट सर्वोत्कृष्ट अंक ल्याउने १÷१ जना छात्र÷छात्रालाई पुरस्कृत गरिएको समितिका अध्यक्ष वरालले जानकारी दिनुभयो ।