हंसपुरमा गोलभेँडा खेती फष्टाउँदै


पोखरा, भदौ ३० गते

कास्कीको हंसपुर गाविसमा गोलभेडा खेती फष्टाउँदै गएको छ । हंसपुरका करिब तीनसय परिवार गोलभेँडा खेतीमा आवद्ध रहेका छन् ।

केही किसानहरुले गोलभेँडा खेतीबाट आम्दानी गरिसकेका छन् भने केही आम्दानीको आशामै रहेको बताउँछन् । उनीहरुले प्लाष्टिकको घर र बाँसको टनेल बनाई व्यवसासयीक रुपमा गोलभेँडा खेती गरेका हुन् । खेतीबाट राम्रै आम्दानी हुने उनीहरुको आशा छ । संयुक्त राज्य अमेरीकाको यूएसआइएडी र मिचिगन स्टेट युनिभर्सिटीको आर्थिक सहयोग र इन्द्रगुफा सामुदायिक विकास प्रतिष्ठान–रामकोटको सहकार्यमा किसानहरुले गोलभेँडा खेती गर्न थालेका हुन् । कृषकलार्य विरुवा, विउ र औषधि पनि सो प्रतिष्ठानले नै उपलव्ध गराउँदै आएको छ । किसान पूर्णबहादुर गुरुङ्गले अमिता जातको गोलभेँडा खेती गरेको पनि जानकारी दिए । खेती गरेको २ महिनाभित्रै फल खान पाइने उनको भनाई छ ।

घडेरीकै छलमायाँ गुरुङ्गले भने एकसय ५० किलोभन्दा बढी गोलभेँडा आफैँले उत्पादन गरेर बेचिसकेकी छिन् । अर्का किसान रामजीप्रसाद सुवेदी पनि गोलभेँडा खेतीबाट खुशी छन् । पहारीलो ठाउँमा गोलभेँडा खेती राम्रो हुने उनको भनाई छ ।

आइतबार यूएसआइएडी र मिचिगन स्टेट युनिभर्सिटीबाटै प्रा.डा. माइकल डी क्याप्लोवीथ, प्रा.डा. मुरारी सुवेदी लगायतको टोली नै अवलोकनको लागी हंसपुर पुगेको थियो । उनीहरुले सबै कृषककोमा पुगी बेमौसमी गोलभेँडा खेतीको अवलोकन गरेका थिए । एक कार्यक्रम मार्फत उनीहरुले किसानसँग अन्तरक्रिया समेत गरे । कार्यक्रममा प्रमुख अतिथी मिचीगन स्टेट युनिभर्सिटीका प्रा.डा. माइकल डी क्याप्लोवीथले आफूले नेपालमा आएर सहयोग गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा उत्कृष्ट पाँच जना कृषकलाई सम्मान पनि गरिएको थियो । इन्द्रगुफा सामुदायिक विकास प्रतिष्ठानका अध्यक्ष एकबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संयोजन भिष्म सुवेदीले गरेका हुन् । पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयका शिक्षक समेत रहेका सुवेदी शिक्षणसँगै कृषिमा पनि निकै चासोका साथ लागिरहेका छन् ।