बेलैमा सचेतना नअपनाउँदा सेतीबाढिमा क्षति


पोखरा भदौ २८

२०६९ बैशाख २३ गतेसेतीमा आएको बाढिबारे पोखरामा शनिबार चर्चा गरिएको छ । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर अन्तर्गत रहेको समाज विज्ञान केन्द्रले शनिबार आयोजना गरेको कचहरीमा बोल्दै पृथ्वीनारायण क्याम्पसमा भूगोल विषयका प्राध्यापक खगेन्द्र पौडेलले बेलैमा सचेतना नअपनाउँदा सेतीको बाढिमा क्षति बेहोर्नुपरेको बताए ।

बेलैमा सचेतना नअपनाउँदा धेरैको ज्यान गएको हो उनले भने । उनका अनुसार बाढि आउनु केहिदिनअघि नै सेतीको मुहान क्षेत्रमा पहिरो झरेर नदि थुनिएको थियो । नदि थुनिँदा तल्लो भेगमा पानीको बहाव घटेको थियो भने पानीमा लेदो मिसिएको पाईएको थियो ।

उनले त्यत्ति नै बेला माथिबाट झरेको हिउँको ठुलो भागले बगाउँदा बाढि आएको बताए । पहिरोमा हिउँको थुप्रो बजारिएर बाढिको रुपमा परिवर्तन भएको उनले बताए । पहिरोले सेती नदि थुनिदा तल्लो क्षेत्रमा पानीको बहाव घटेको पनि उनले बताए । पानीको तह घटेको बेलामा सचेतना अपनाएको भए यत्तिको क्षति नहुन सक्ने उनले बताए । बाढिमा २८ जनाको ज्यान गएको र अझै केहि वेपत्ता छन् । बाढिले खारपानीको तातोपानी बजार सहित आसपासका बस्तीमा असर पारेको थियो ।

अर्का भुगोलविद् रामजी पोखरेलले पहिरोबारे सचेतना नअपनाउँदाको अवस्थामा धेरैले ज्यान गुमाउनुपरेको बताए । पानी घटेको संकेत पाएको अवस्थामा सचेतना अपनाएको भए यस्तो क्षति नहुने उनले बताए । भुगोल विषयका प्राध्यापक कृष्ण केसीले गम्भिरताका साथ लिएर बसोबासलाई सुरक्षित गर्नुपर्ने बताए । उनले सेतीको माथिल्लो भागमा अझै पनि खतरा रहेकोले थप सचेत हुनुपर्ने बताए ।

केहि विज्ञहरुका अनुसार अन्नपुर्ण चौथो शिखरभन्दा डेढ किलोमिटर दक्षिण करिब ६ हजार ८ सय मिटरमा अवस्थित धारको ३२ हजार वर्ग मिटर चट्टान र बरफ सहितको भाग झरेरसेतीमा अकल्पनिय बाढि आएको हो । माथिबाट झरेको बरफको ठुलो खण्ड करिब ५ हजार मिटरमा रहेको बरफसहितको ढलानमा बज्रन पुग्दा बाढि आएको विज्ञहरुको भनाई छ ।वर्षाको समयमा जनमानमा बाढिबाट हुने क्षति बारे सचेत गराउन समाज विज्ञान केन्द्रले सेतीबाढिबारे चर्चा चलाएको केन्द्रका सदस्य सचिव देव क्षेत्रीले बताए ।

उनले आगामी दिनमा पनि यस्ता सचेतनामुलक कार्यक्रम संचालन गरिरहनले जानकारी दिए । केन्द्रले अहिलेसम्म चारवटा कचहरी र दुईवटा मिडिया चौतारी गरिसकेको छ ।