बोगटीलाई हृदयघातसँगै मस्तिष्कघात,स्वास्थ्य स्थिति गम्भीर


काठमाडौ, भाद्र २८ – एमाओवादी उपाध्यक्ष पोस्टबहादुर बोगटीलाई हृदयघातसँगै मस्तिष्कघात भएको छ। चिकित्सकहरूका अनुसार हाल अचेत बोगटीको स्वास्थ्य स्थिति ‘गम्भीर तर स्थिर’ छ।

६० वर्षीय बोगटीलाई बिहीबार राति हृदयघात भएपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो।

‘उहाँको राति एक बजे मुटुको एन्जियोप्लास्ट गर्‍यौं,’ गंगालालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव भट्टले भने, ‘मुटुसम्बन्धी समस्या तत्कालका लागि समाधान भए पनि चाल कम हुँदा मस्तिष्कघातसमेत भएको हो। स्थिति गम्भीर तर स्थिर छ।’ बोगटीको मस्तिष्कको एउटा भागमा असर परेको छ। त्यहाँ रगत जमेको छ। ‘ब्रेन इन्फेक्सन’ समेत भएकाले स्नायुसम्बन्धी उपचारका लागि शुक्रबार गंगालालबाट नर्भिक हस्पिटल लगिएको छ। मुटुको शल्यक्रियाका कारण मस्तिष्कको बन्द नसा खोल्ने औषधि चलाउन नमिलेको चिकित्सकले जनाएका छन्।