विजयकुमारको सर्वोच्च अदालतलाई जवाफ


म विगत ३३ वर्षदेखि स्वतन्त्र पत्रकारिता गरी देश र समाजलाई सेवा गर्दै आएको छु। मैले टेलिभिजन र रेडियोमा कार्यक्रम सञ्चालन गर्दै आएको छु भने समसामयिक विषयमा तथ्यको आधारमा विश्लेषणात्मक लेख रचना विभिन्न पत्रपत्रिकामा प्रकाशन गर्दै आएको छु। पञ्चायतकालदेखि नै मैले पत्रकारिता सुरु गरेको हुँदा सो समयमा समेत जनतालाई सुसूचित हुने मौलिक हकलाई संरक्षण गर्नका लागि मैले भूमिका खेल्दै आएको सर्वविधित नै छ। नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ (३) अनुसार विचार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रही धारा १५ ले दिएको अधिकारको अधिनमा रही स्वतन्त्र न्यायपालिकाको पक्षमा लेखरचना प्रकाशन गर्दै आएको छु। स्वतन्त्र न्यायपालिकाप्रति मेरो पूर्ण आस्था एवं विश्वास रहेको मेरो ३३ वर्षको पत्रकारिताबाट स्पष्ट हुन्छ। अदालतप्रति मेरो पूर्ण सम्मान र आस्था रहेको यहाँ स्पष्ट रुपमा राख्न चाहन्छु। स्वतन्त्र एवं निष्पक्ष पत्रकारिताले न्यायालयलाई बल पुर्‍याउने हुन्छ। न्यायलयले पत्रपत्रिकालाई अप्ठ्यारो अवस्थामा संरक्षण गर्ने हो भन्ने मेरो मान्यता छ।

विपक्षी निवेदकले मैले मिति २०७०।१।१८ गते लेखेको लेखको एउटा अंशलाई आधार बनाई सम्मानित अदालत समक्ष निवेदनदिएको देखिन्छ । उक्त मितिमा मबाट लेखिएको लेख तत्कालीन अवस्थामा समाजमा भइरहेको चर्चा परिचर्चा सुनेको तथ्यको आधारमा विश्लेषणात्मक रुपमा लेखेको हुँ। उक्त लेखमा पक्ष र विपक्ष अर्थात् राम्रा नराम्रा कुराहरु समेत उल्लेख गरिएको छ। त्यसमा देशका सम्मानित पदहरुको पक्षविपक्ष र असरको बारेमा मैले सार्वजनिक छलफलको विषय बनोस् भनी लेखेको हुँ। उक्त लेखमा बजारमा भएको नकारात्मक टिकाटिप्पणी र सुनेको कुरा समेत सन्दर्भ सामग्रीको रुपमा उल्लेख भएको हो। अदालतको वा माननीय न्यायाधीशको मानमर्दन गर्ने आशयले उक्त लेख लेखेको होइन। सम्मानित अदालतको मानमर्दन गर्न मेरो न कुनै मनसाय कहिल्यै थियो, न छ, न भविष्यमा हुनेछ । मेरो पेशागत निष्ठा र अदालतको मर्यादा एक साथमात्र रहन सक्छ। कुनै माननीय न्यायाधीशसँग मेरो कुनै व्यक्तिगत रुपमा आग्रह वा पूर्वाग्रह छैन। मैले स्वतन्त्र पत्रकारको रुपमा तत्कालीन अवस्थामा वस्तुगत परिस्थितिको आधारमा लेखिएको उक्त लेख हो।

मिति २०७०।१।२८को उक्त लेखभन्दा धेरै अगाडिदेखि मैले पत्रकारिता गरी आएको छु। प्रजातन्त्रमा स्वतन्त्र न्यायालयको अहम भूमिका रहन्छ भन्ने मान्यतालाई उजागर गर्दै आएको कुरा मेरो प्रकाशित पटकपटकको लेख रचनाबाट प्रष्ट हुन्छ। विपक्षीको उल्लेखित लेखपछि २०७०।२।११ म “अचानो होइन गजुर बनाउन चाहन्छु श्रीमान्” शीर्षकको लेख कान्तिपुरमा प्रकाशित भइसकेको छ। उक्त लेखमार्फत मेरो धारणा सार्वजनिक रुपमा राखिसकेको छु। उक्त प्रकाशित लेखको फोटोकपी यसै साथ पेश गरेको छ। सर्वाेच्च अदालतको न्यायाधीश नियुक्ति क्रममा संवैधानिक सुनुवाइको नाममा न्यायाधीशको मानमर्दन हुने गरी संसदीय सुनुवाइ गर्नु हुँदैन भनी मान्यता राखी अदालतका मर्यादाको पक्षमा लेख्ने लिखित जवाफवाला लेखक म नै हुँ। यसर्थ स्वतन्त्र न्यायपालिनासम्बन्धी काप्रति मेरो पूर्ण सम्मान एवं आस्था छ। भविष्यमा समेत रहने छ। यसरी अदालत एवं न्यायाीधशप्रति पूर्ण आस्था र विश्वास भएको हुनाले अदालतको अवहेलना मैले नगरेको हुनाले अदालतको अवहेलनामा मलाई सजाय हुने होइन।
(अदालतको अवहेलनासम्बन्धी मुद्दामा पत्रकार विजयकुमारले सर्वोच्च अदालतलाई बिहीबार बुझाएको जवाफको सम्पादित अंश)