आठौं पोखरा पिस क्रिकेट कप–२०७१ जारी


पोखरा, २५ भदौ

आठौं पोखरा पिस क्रिकेट कप २०७१ अन्तर्गत मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा एसएमसी ८ ले युनाइटेड स्याङ्गजा क्रिकेट क्लव स्याङ्गजालाई ७ विकेटले पराजित गरी सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

टस जितेर पहिले ब्याटिङ्ग रोजेको स्याङ्गजाले १५.२ ओभरमा ७२ रन बनाउँदै आफ्ना सबै विकेट गुमाउन पुगेको थियो । खेलमा सबै समय एसएमसी ८ हावी भएको थियो ।

स्याङ्गजाका विरुले २५ (१) रन र विपिनले १२(१६) रन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो आँकडामा रन बनाउन सकेनन् । एसएमसी ८ का विवेक तिवारीले ४ ओभरमा १ मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सगुनले ४ ओभरमा १ मेडन राख्दै ६ रन खचेर ३ विकेट तथा दिपेशले १.२ ओभरमा एक मेडन राख्दै ४ रन खर्चेर २ विकेट लिन सफल भए ।

७३ रनको झिनो लक्ष्य पाएको एसएमसी ८ ले १०.५ ओभरमा ३ विकेटको क्षतिमा उक्त लक्ष्य पार गरेको थियो । एसएमसी ८ का विवेकले २१ (३१), प्रदीपले २१ (१६) रन बनाएका थिए । स्याङ्गजाका विरुले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिए । उक्त खेलको म्यान अफ दी म्याच एसएमसी ८ का विवेक तिवारी घोषित भएका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार सेमीफाइनलको एक खेल हुनेछ । बिहान ९ः४५ बजे फ्यूचर स्टार क्रिकेट क्लव र गण्डकी फुड क्याफे गाइजका बीच हुने क्लवका सचिव प्रताप आचार्यले जानकारी दिएका छन् । प्रतियोगिता बाराही उच्च माविको खेलमैदान मालेपाटनमा भइरहेको छ ।