संस्थागत शिक्षा पत्रकारिता पुरष्कारद्वारा रेडियो अन्नपूर्ण पुरस्कृत


काठमाडौँ, २५ भदौ
नेपाल पत्रकार महासंघ र शिक्षा विभागले प्रदान गर्ने संस्थागत शिक्षा पत्रकारिता पुरष्कारबाट रेडियो अन्नपूर्ण आज पुरष्कृत भएको छ । पाँच विकास क्षेत्र र उपत्यकालाई एक क्षेत्र मानी ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने उक्त पुरष्कार, पश्चिमाञ्चलबाट रेडियो अन्नपूर्णले पाएको हो । सभामुख सुवासचन्द्र नेम्वाङले रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

आज काठमाण्डौँमा आयोजना भएको एक विशेष कार्यक्रममा सभामुख नेम्वाङले २० हजार राशिको नगद पुरस्कार सहित सम्मानपत्र रेडियोका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई प्रदान गर्नुभएको हो ।

विगत एक दशक देखि सञ्चारमाध्यम मार्फत शैक्षिक कार्यक्रम सञ्चालन गरी शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर¥याएको भन्दै पश्चिमाञ्चल क्षेत्रबाट रेडियो अन्नपूर्णलाई पुरस्कृत गरिइएको हो । पुरस्कार ग्रहण गर्न श्रेष्ठ आज विहान काठमाण्डौँ प्रस्थान गर्नुभएको थियो ।

रेडियोले एस.एल.सी दिने विद्यार्थीलाई लक्षित गरी विगत १० वर्षदेखि रेडियो टिचिङ्ग शिक्षासँग सम्बन्धित शैक्षिक बहस र विद्यार्थी केन्द्रित पक्ष विपक्ष तथा अब हाम्रो पालो लगायतका कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

उक्त पुरष्कार पूर्वाञ्चलबाट त्रियुगा एफएम (उदयपुर) मध्यमाञ्चलबाट जनकपुर एफएम (जनकपुर), उपत्यका (नेपाल एफएम (काठमाडौँ) मध्यपश्चिमाञ्चलबाट रेडिया कर्णाली आवाज (जुम्ला) र सुदूरपश्चिमबाट संयुक्त रुपमा रेडियो रामारोशन (अछाम) र सनसेर एफएम (बैतडी) लाई प्रदान गरिदैछ ।

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार संयुक्त नागरिक दैनिकका रुद्र खड्का (बाँके), नयाँ पत्रिका दैनिकका भवानीश्वर गौतम (काठमाडौं) र गोरखापत्र दैनिकका शेषकान्त पण्डित (काठमाडौं) लाई दिइदैछ । पुरस्कारको राशि ७५ हजार रुपैयाँ छ ।

पाँच विकास क्षेत्र र उपत्यकालाई एक क्षेत्र मानी छ क्षेत्रलाई प्रदान गरिने रु २५ हजार राशिको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७० पूर्वाञ्चलबाट धु्रव सुवेदी (नागरिक दैनिक, भोजपुर), मध्यमाञ्चलबाट संयुक्तरुपमा मकवानपुरका ध्रुव अधिकारी (राजधानी) र सुनील खड्का (रेडियो निकास), उपत्यकाबाट कृष्णप्रसाद ज्ञवाली (कान्तिपुर, काठमाडौं) र सूर्यप्रसाद पाण्डे (अन्नपूर्ण दैनिक, काठमाडौं) संयुक्तरुपमा, पश्चिमाञ्चलबाट रेखीराम राना (गोरखापत्र, पाल्पा) र कृष्ण मल्ल (पाठशाला मासिक, रुपन्देही) संयुक्त, मध्यपश्चिमाञ्चलबाट सुरेन्द्र काफ्ले (अन्नपूर्णपोष्ट, बाँके) र सुदूरपश्चिमाञ्चलबाट प्रकाश सिंह (द हिमालयन टाइम्स दैनिक बाजुरा) लाई प्रदान गर्ने निर्णय गरिएको महासङ्घले जनाएको छ ।

उपत्यकासहित ६ क्षेत्रका दुई÷दुई जनालाई प्रदान गरिने शिक्षा लेखनवृत्ति अन्तर्गत पूर्वाञ्चलबाट अन्नपूर्ण दैनिकका छेटु शेर्पा (सङ्खुवासभा) र सुरेन्द्र भण्डारी (पूर्वाञ्चल दैनिक, झापा), मध्यमाञ्चलबाट संयुक्त रुपमा महेशकुमार दास (नागरिक दैनिक, महोत्तरी), चिना थापा (रेडियो सिन्धुलीगढी, सिन्धुली) र रमा दाहाल (कान्तिपुर टेलिभिजन, काभ्रे) प्रदान गरिने छ भने उपत्यकाबाट स्मृती गिरी (इमेज टेलिभिजन, काठमाडौं), रोशन क्षेत्री गाउँले (एजुकेशनल पेजेज, काठमाडौं) र निर्जना शर्मा (रिपब्लिका दैनिक, काठमाडौं) पश्चिमाञ्चलबाट अमरराज नहर्की (गोरखापत्र, तनहुँ) र गगनशीला खड्का (नयाँ पत्रिका, गुल्मी), मध्यपश्चिमबाट जनक केसी (नागरिक, जाजरकोट) र धनवीर दाहाल (नेपाल समाचारपत्र, रुकुम) एवं टेकराज भण्डारी (रेडियो रामारोशन, अछाम) र हर्कबहादुर विक (एभिन्यूज टेलिभिजन, कैलाली) सुदूरपश्चिमाञ्चललाई प्रदान गर्ने निर्णय गरिएको महासचिव उजिर मगरले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । लेखनवृत्तिको राशि १५ हजार रुपियाँ छ ।

त्यस्तै राष्ट्रिय स्तरका दैनिक पत्रपत्रिकालाई प्रदान गरिने ४० हजार राशिको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार राजधानी दैनिकलाई प्रदान गरिएको छ भने राष्ट्रियस्तरका टेलिभिजनतर्फ प्रदान गरिने ४० हजार राशिकै संस्थागत शिक्षा पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनलाई प्रदान गरिएको छ । रासस