अन्तराष्ट्रिय आत्महत्या रोकथाम दिवस, दक्षिण एसियामा नेपाल आत्महत्या गर्नेमा दोस्रो


उमा आलेमगर
पोखरा, २५ भदौ

दक्षिण एसियामा नेपाल आत्महत्या गर्नेहरुको संख्यामा दोस्रो स्थानमा रहेको एक तथ्याङ्कले देखाएको छ । कोपिला नेपालले अन्तराष्ट्रिय आत्महत्या रोकथाम दिवसको बारेमा जानकारी दिन आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो समय आमहत्या गर्नेको संख्यामा वृद्धि भएको र साउथ एसियामा नेपाल दोस्रो स्थानमा पर्ने जानकारी दिएको हो ।

विश्वव्यापी रुपमा हेर्ने हो भन आत्महत्याको औसत दर प्रति १ लाख जनामा १६ रहेको र महिलाको तुलनामा पुरुषको संख्या बढी रहेको छ । हरेक ४० सेकेण्डमा विश्वको कुनै न कुनै ठाउँमा एक जनाले आत्महत्या गर्ने तथ्यांकले देखाएको छ । विश्व स्वास्थय संगठनका अनुसार प्रत्येक वर्ष ८ लाख जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । सोही तथ्यांकले विश्वभर हुने मृत्युमध्ये १.८ प्रतिशत मृत्यु आत्महत्याको कारणले हुने गरेको छ । गएको ४५ वर्षमा विश्वमा आत्महत्या ६० प्रतिशतले ढेको देखिन्छ । नेपाल लगायतका धेरैजसो राष्ट्रमा १५ देखि ४५ वर्ष उमेर समुहका मानिसहरुको मृत्युको प्रमुख कारण आत्महत्या पर्दछ । नेपालको अवस्थालार्ए हेर्दा प्रजनन् उमेरका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको पाइएको ।

मेटरनल मोर्टालिटी एण्ड मोरबिडिटी एम.एम.एम २००८÷०९ को रिपोर्ट अनुसार नेपालमा प्रजनन् योग्य उमेर समहुका महिलाको आत्महत्या दरप्रति १ लाखमा २६.६ प्रतिशत रहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्याङ्क अनुसार गएको ४ वर्षमा आत्महत्याका ६ सय ५० घटना दर्ता भएका छन् । जसमा २०६८÷२०६९ मा १ सय ४९ जना, २०६९÷२०७० मा १ सय ३८ जना, २०७०÷२०७१ मा २ सय ५ जना रहेका छन् । धेरैजसो आत्महत्याका घटनाहरु प्रहरीको अनुसन्धानमा आई नपुग्ने भएकोले आत्महत्याको तथ्यांक प्रहरीसँग भएको भन्दा धेरै बढी हुनसक्ने कुरा प्रहरी अधिकृतहरुले बताएको मनोसामाजिक सुरक्षाका कोअर्डिनेटर लक्ष्मणनाथले जानकारी दिनुभयो ।

उहाँले आत्महत्याका धेरै कारणहरु हुने बताउँदै मानसिक रोग, डिप्रेसन, आवेग, मादकपदार्थ सेवन, हिंसा प्रमुख भएको बताउनुभयो । लक्ष्मणनाथले आत्महत्याका कारणहरु, सुरक्षाका तत्वहरु, सहयोग र उपचार कहाँ र कोसँग, संभावित लक्षणहरु, आत्महत्याबारे गलत अवधारणा जोखिमका तत्वहरु, आत्महत्याको सोच र प्रकृति व्यवस्थापन लगायतको बारेमा जानकारी दिनुभएको थियो ।

त्यस्तै सहरी सुकुम्बासी परियोजनाका अफिसर सन्तोष दाहालले आत्महत्याका समाचार जिम्मेवारीपूर्वक कसरी प्रेशित वा प्रसारण गर्ने ? बारेमा जानकारी दिदैँ आत्महत्याको समाचारलाई प्राथमिकता तथा बढी प्रचारपसार गर्न नहुने बताउनुभयो । उहाँले आत्महत्या भन्दा पनि त्यसकोे कारण केलाउनुपर्ने बताउनुभयो । बरालले समाचारको शिर्षकमा आत्महत्या राख्न नहुने बताउँदै आत्महत्या गरिइएका ठाउँहरु वा भिडियो÷फोटोहरु सम्प्रेषण गर्न नहुने बताउनुभयो ।

 

यसैबिच सेप्टेम्बर १० अर्थात् अन्तराष्ट्रिय आत्महत्या रोकथाम दिवसको अवसरमा आज बुधबार विश्व स्वास्थय संगठनको सहयोगमा कोपिला नेपालले सचेतनामुलक कार्यक्रमको आयोजना गरिदैछ । यस वर्षको अन्तराष्ट्रिय आत्महत्या रोकथाम दिवसको नारा ‘‘आत्महत्या रोकथाम ः सम्पूर्ण विश्व एक साथ’’ तय गरिइएको छ ।

दिवसको अवसरमा आज दिउँसो १ बजे कोपिला नेपालको कार्यालयमा आत्महत्या रोकथामका लागि सरोकारवालाहरुसँग छलफल कार्यक्रम गरिने भएको कापिला नेपालकी कार्यकारी निर्देशक विना सिलवालले जानकारी दिनुभयो । सोही अवसरमा आत्महत्या रोकथामका विभिन्न पर्चा पम्प्लेटहरु वितरण गरिने छ । सिलवालले सेप्टेम्बर १० देखि अक्टोबर १० सम्म हरेक हप्ता आत्महत्या रोकथाम सम्बन्धि सचेतनामुलक समाचार वा लेखरचना समप्रेषण गरिदिन सञ्चारकर्मी आग्रह गर्नुभयो । साथै उहाँले मानसिक समस्या सम्बन्धि परामर्श तत्काल लिनको लागि नि ः शुल्क ट्रमा हेल्पलाइन स्थापित गर्ने तयारी रहेको जानकारी दिनुभयो

त्यस्तै राति ८ बजे आत्महत्या गरेर ज्यान गुमाएका र आत्महत्याको प्रयास गर्नेहरुको सम्झनामा १ घर १ मैनबत्ति बाल्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक तिर्थ थापाले जानकारी दिनुभयो । उहाँले सम्पूर्णलाई भोलि राति ८ बजे १ घर १ मैनबत्ति घरको झ्यालमा बाल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थय अधिकृत रमेशप्रसाद अधिकारी, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डाक्टर रामचन्द्र ढकाल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर लगायतले कोपिला नेपाल अभियानमा सहकार्य गर्नुका साथै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कोपिला नेपालकी कार्यकारी निर्देशक विना सिलवालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तिर्थ थापाले गर्नुभएको थियो ।