राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस पोखरामा भव्यताका साथ मनाइँयो, गुणस्तरीय, सस्तो र व्यवहारिक शिक्षा आजको आवश्यकता ः क्षेत्रिय प्रशासक थपलिया


उमा आलेमगर
पोखरा, २४ भदौ
राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस जिल्ला शिक्षा कार्यालय कास्कीले सोमबार भव्यताका साथ मनाएको छ । ‘‘सक्षम शिक्षक, स्तरिय शिक्षा, सम्वृद्धिका लागि साक्षरता र प्राविधिक शिक्षा’’ नारा तय गरिएको दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय कास्कीले भव्य समारोहको आयोजना गरी मनाएको हो ।

क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले कार्यक्रमको उद्घाटन गर्दै गुणस्तरीय, सस्तो र व्यवहारिक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । उहाँले अहिलेको शिक्षा प्रणाली प्रतिशत बढाउन र प्रमाणपत्र ल्याउनमा मात्र सिमित भएको बताउँदै अब व्यवहारिक शिक्षाको खाँचो रहेको बताउनुभयो ।

थपलियाले पेशागत गुनासो राख्न पाउनु शिक्षकको अधिकार भएपनि बालबालिकाले शिक्षा लिन पाउनु पहिलो प्राथमिकता भएकोले अधिकारको कुरा गर्दा कर्तव्यलाई नभुल्न पनि उहाँले शिक्षकलाइ आग्रह गर्नुभयो ।थपलियाले राज्यले शिक्षामा ठूलो लगानी गरेको दाबी गर्दै उहाँले कुनै पनि विद्यालयले आफुले दिएको शिक्षाको गुणस्तर कस्तो छ ? किन विद्यार्थीहरु कमजोर भयो ? विद्यालय आफैले चिन्तन गर्नुपर्ने बताउनुभयो ।

उहाँले अरुलाई दोष दिनु भन्दा आफैले आफ्नो अनुगमन गर्न आग्रह गर्दै ऐन नियम कमजोर भएको भन्दा पनि भएका ऐन नियम कत्ति लागु भएका छन् ? त्यो महत्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य, क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक विष्णुप्रसाद पराजुली, नेपाल शिक्षक संघका केन्द्रिय सदस्य किशोरदत्त बराल, नेपाल शिक्षक यूनियन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, नेपाल शैक्षिक गणतान्त्रिक संगठनका अध्यक्ष विष्णुमणि लामिछाने, नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रामप्रसाद पोखरेल, नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष शिरोमणि लामिछाने, अखिल नेपाल शिक्षक संगठन कास्कीका अध्यक्ष गोपालमणि लामिछाने, नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष कृष्णप्रसाद अधिकारी, हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, एनप्याब्सनका अध्यक्ष रामबहादुर मोची, यूनिस नेपालका अध्यक्ष ध्रुव गिरी, प्याब्सुका केन्द्रिय अध्यक्ष शिवलाल उपाध्याय, प्याब्सु कास्कीका अध्यक्ष रामचन्द्र शर्मा, बाल मन्दिर विद्यालयका प्रधानाध्यापक सुशिल बस्नेत लगायतले शिक्षाको बारेमा चर्चा गर्नुभएको थियो ।

सोही अवसरमा शैक्षिक क्षेत्रमा विशिष्ट योगदान गर्ने शिक्षक र विद्यालय, २०७० को प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रम स्थानिय विकास अधिकारी ताराबहादुर अधिकारीको अध्यक्षतामा भएको थियो ।