सरकारले युरोपमा नेपाली कामदार पठाउने तयारी, श्रम सम्झौताका लागि पहल गर्ने


काठमाडौं, भदौ २१-

सरकारले अब युरोप, अमेरिकालगायतका मुलुकमा रोजगारीका लागि कामदार पठाउन तयारी सुरु गरेको छ ।

वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक पहिचान गर्ने जिम्मा पाएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विकसित मुलुकमा नेपालीलाई रोजगारीका लागि पठाउन आवश्यक कार्ययोजना तयार पारेको छ । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले यससम्बन्धी कार्ययोजनालाई बोर्डले अन्तिम रुप दिने तयारी गरिरहेकोे जानकारी दिए ।
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ सहभागी बिहीबारको बोर्डको बैठकले ‘उच्चस्तरीय वैदेशिक रोजगार प्रवर्द्धन समिति’ बनाउने सैद्धान्तिक सहमति गरेको छ । बोर्डको अर्को बैठकले समितिका संयोजक र सदस्यहरुलाई पूर्णता दिनुका साथै समितिको कार्यविधिलाई पारित गर्नेछ ।
समितिमा श्रम मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, गैरआवासीय नेपाली संघ -एनआरएन)का अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष र तीनजना वैदेशिक रोजगार विज्ञ रहने छन् ।
कार्यकारी निर्देशक रेग्मीले भने-खाडी मुलुकमा तुलनात्मक रुपमा जोखिमपूर्ण काम हुने तर, तलब निकै कम हुने समस्या देखिएको छ ।’ बोर्डले समितिलाई पूर्णता दिएलगत्तै युरोपका गन्तव्य मुलुकहरुसँग श्रम सम्झौताका लागि पहल गर्ने तयारी भइरहेको छ ।
कामदारलाई दक्ष बनाएर विकसित मुलुक पठाउन सके अहिले खाडी मुलुकबाट पाउने तलबभन्दा तीन गुणासम्म बढी तलब कामदारले पाउने सम्भावना हुन्छ । समितिको कार्ययोजनामा अहिले धेरै कामदार गइरहेका मलेसिया, खाडीलगायतका मुलुकलाई समेत थप व्यवस्थित र सुरक्षित बनाउने उल्लेख गरिएको छ ।
समितिले बृहत् कार्यक्षेत्र लिएर श्रम मन्त्रालयसँगै परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अन्तर्राष्ट्रिय नियोग, विदेशमा रहेका नेपाली दूतावास, एनआरएनको सहयोगमा गन्तव्य मुलुकको खोजी र उनीहरुसँग श्रम सम्झौता गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।
नेपालले १०९ मुलुक वैदेशिक रोजगारीका लागि खुला गरे पनि जम्मा २५ वटा मुलुकमा नियमित कामदार गइरहेका छन् । तीमध्ये पनि मलेसिया, साउदी अरब, कतार, दुबई र कुबेतमा ९० प्रतिशत कामदार गइरहेका छन् । रासस

तपाईको प्रतिक्रिया