परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजदेखि सुरु


भक्तपुर, भदौ २१-

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । इन्द्रजात्राको अवसरमा आज भक्तपुरको टोल टोलमा इन्द्रको मूर्ति स्वरुप सानो लिङ्गो ठड्याइयो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्ति स्वरुप लिङ्गो उठाउने प्रचलन रहेको छ ।

यसरी ठड्याइएको लिङ्गोलाई नेवारी भाषामा यम्वोःद्यो भनिन्छ । धार्मिक पूजाआजासहित आज भक्तपुरको तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, चोछें, भोलाछें, इताछेंलगायतका स्थानमा यम्वो द्यो ठड्याइएको छ ।
इतिहास तथा संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गर्‍यो ।
त्यसपछि जयन्तलाई दुई हात पछाडि बाँधेर राखेपछि जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच सङ्ग्राम भई देवताको जित भएको खुसियालीमा इन्द्रजात्रा मनाउँदै आएको किवंन्दती रहेको छ । भक्तपुरमा विभिन्न देवदेवताको पूजाआजा गरी इन्द्रजात्रा आठ दिनसम्म मनाइन्छ । रासस

indra-jatra-1