बागलुङ–पोखरा मगर समाजको अधिवेशन कात्तिकमा


रूद्र श्रीसमगर
पोखरा, भदौं १८
बागलुङ–पोखरा मगर समाजको चौथो अधिवेशन तथा आठौं वार्षिक साधारणसभा आगामी कात्तिक २२ गते हुने भएको छ ।
मंगलबार सम्पन्न कार्यसमिति बैठकले आगामी कात्तिकमा अधिवेशन गर्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष मेखबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
साथै, सो बैठकले अधिवेशनका अवसरमा २०७० सालको एसएलसी परीक्षा उत्तीर्ण तथा विभिन्न शैक्षिक उपाधि प्राप्त बागलुङे मगर विद्यार्थीहरू र ८० वर्षमाथिका वृद्धवृद्धालाई सम्मान गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी, आगामी कात्तिक महिनाको पहिलो शनिबार हुनुपर्ने मासिक बैठकलाई दशैं तिहार पर्वका कारण सारेर १५ गते शनिबार बस्ने निर्णय पनि गरेको छ । बैठकसँगै सोही अवसरमा विविध सांस्कृतिक कार्यक्रमसहित तिहार देउसी भैलो कार्यक्रम समेत गर्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।
अधिवेशनको बाँकी तयारीका विषयमा भने आगामी असोज महिनाको पहिलो शनिबार बस्ने मासिक बैठकले तय गर्ने निर्णय गरेको जनाइएको छ ।
कार्यवाहक अध्यक्ष मेखबहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव कृष्णाकुमारी श्रीसले गर्नुभएको थियो ।