महावीर पुनको टोली संगम माविमा, ईश्वर विकको आँखा उपचार गरिदिने,


जुना थापा
१६ भदौ, पोखरा
म्यागासेसे पुरस्कार विजेता महावीर पुन र उहाँको टोलीले संगम मावि लुम्ले, ४ चन्द्रकोटको आइतबार अवलोकन भ्रमण गरेका छन् ।
उनीहरुले कम्प्युटर ल्याव, पुस्तकालय, कक्षाकोठा, होस्टल भवन, निर्माणधिन भवनको अवलोकन गरेका थिए । स्कुलमा १२ वर्षअगाडि वायरलेस इन्टरनेट पुनले जोडिदिएका थिए र त्यही इन्टरनेटको अवस्था हेर्न पुन बेला बेलामा स्कुल पुग्ने गरेका छन् ।
यसैबीच पुनसँग आएका अमेरिकी नागरिक निकोलसले कक्षाकोठामा गएर विद्यार्थीसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरुका समस्याबारे सोधेका थिए । निकोलसले कक्षा ९ मा अध्ययनरत ईश्वर विकको आँखाको उपचार गरिदिने प्रतिबद्धता जनाएका छन् । निकोलसले विद्यार्थीहरु निकै प्रतिभावान् र सरकारी विद्यालयमा अध्ययन गर्ने भएतापनि अङ्गे्रजी भाषामा दख्खल राख्ने विद्यार्थी देख्दा आफू निकै खुसी रहेको बताएका छन् ।
विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भण्डारीले पुनले इन्टरनेट जोडिदिएर विद्यालयलाई ठूलो गुन लाएकामा पुनलाई धन्यवाद दिनुभयो । आइतबारको भ्रमणमा आएका अमेरिकी नागरिक निकोलसले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी ईश्वरको आँखाको उपचार गरिदिने प्रतिबद्धता गरेकामा हर्षित भएको बताउनुभयो ।
यसैबीच रोटरी क्लव अफ पोखराले विद्यालयलाई २ लाख ५० हजार बराबरको ४ थान ल्यापटप, १ थान प्रिन्टर, २ थान टेबल सहयोग हस्तान्तरण गरेको छ ।
रोटरी क्लव अफ पोखराका कार्यक्रम संयोजक जगन गुरुङले उक्त सहयोग सामाग्री प्रधानाध्यापक भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो ।