घर तथा भवन निर्माण र डिजाइनिङमा युवा जोस


अमृत सुवेदी
पोखरा-

सबैको सपना हुन्छ कुनै न कुनै जागिर, पेशा, व्यवसाय गर्ने । पैसा कमाउने । सुन्दर घर बनाउने । आँफु र आफ्नो परिवार आनन्दका साथ जिन्दगी बिताउने । व्यापार, व्यवसायलाई दिर्घकालिन बनाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने । यही सोंचले पोखरामा अहिले धमाधम घर तथा भवनहरु निर्माण भइरहेका छन् । पोखरामा बर्षेनी करिब ३ हजारको हाराहारीमा घरहरु बनिरहेको तत्थ्याङ्क छ । तर राम्रो डिजाइनमा भरपर्दो र आकर्षक घर तथा व्यवसायिक प्रतिष्ठान बनेन भने सायद बषौंदेखिको लगानी र परिश्रमको कमाई, कमाई जस्तो लाग्दैन् ।

मनले सन्तोष पाउँदैन । त्यसैले घर तथा भवन बनाउँदा धेरै कुरामा ध्यान दिनुपर्छ । नक्सा बनाउने, नयाँ र आकर्षक डिजाइन दिने, वास्तुशास्त्र अनुसार काम गर्ने र सुन्दर, बलियो घर तथा व्यवसायिक प्रतिष्ठान बनाउने, प्राय सवैले चाहन्छन् यस्तै । पोखरामा ‘स्पेस डेकोर’ संचालनमा ल्याएका दुई युवाले आँफ्नो सिप, यूवा जोस र नयाँ सोंचलाई कलात्मक अनि सुन्दर घर तथा भवन डिजाइनिङ मै लगाईरहेका छन् ।

पोखराको शान्तिनगरमा ‘स्पेस डेकोर इन्टिरियर, आर्किटेक्ट’को व्यवसायिक थालनी गरेका पोखराकी आर्किटेक्ट इन्जिनियर स्मिता पराजुली र सर्लाहीमा जन्मेर पोखरालाई कर्मथलो बनाएका इन्टिरियर डिजाइनर मंगल लामालाई यतिबेला घर तथा भवन निर्माणको डिजाइनदेखि लिएर सम्पूर्ण निर्माण काम गर्न भ्याईनभ्याई छ । पोखराको सिमपानीमा जन्मेर पोखरा मै कार्मथलो बनाएकी स्मिताले काठमाडौंको इन्जिनियरिङ कलेजवाट आर्किटेक्ट इन्जिनियरिङमा व्याचलर गरेकी छन् भने अहिले इनकन्ट्रक्सन म्यानेजमेन्ट विषयमा एमएस्सी गर्दै छिन् ।

smita

                                                

लामो समय कन्ट्रक्सन क्षेत्रमा विताएका युवा मंगल लामासँग भने मजदुरदेखि इन्टिरियर सम्मको अनुभव छ । कामप्रतिको लगाव र मेहनत गर्ने हो भने केही कुरा असम्भव हुँदैन भन्ने कुराको मंगल एक ज्वलन्त उदाहरण हुन् । मध्यम परिवारमा जन्मे, हुर्केका मंगल काम पनि गर्ने र पढाईलाई पनि निरन्तरता दिने उद्धेश्यले काठमाडौं पुगे । उनी त्यहाँ ठेकेदारसँग घर बनाउने काम गर्थे र एक दिन ठेकेदारसँगै पोखरा आउने मौका पाए । पछि उनले काम गर्ने ठेकेदारसँग काम नभएपछि उनी ठूलो सपना लिएर पोखरा आए र यहीँ कन्ट्रक्सनको कामसँगै बडो मेहनतका साथ इन्टिरियर डिजाइनिङको अध्ययन पनि पुरा गरे । लामो समय यही क्षेत्रमा अनुभव बटुलेका लामालाई पढाइवाट सर्टिपिकेट मात्र मिलेन ठूलो उर्जा तथा काम गर्ने जोस र जाँगर पनि मिल्योे ।

पोखरामा काम गर्दै जाने क्रममा एक दिन मंगलको भेट भयो आर्किटेक्ट स्मिता पराजुलीसँग । एउटै क्षेत्रको भएकाले दुवै जनाको यूवा जोस र जाँगर व्यवसायिक रुपमा स्पेस डेकोरको नामवाट सुरु भयो । मंगलले पनि आफ्नो ९ बर्षदेखिको अनुभवलाई व्यवसायिक रुपमा अघि बढाउन तर्फ लागे । स्मितालाई पनि आफ्नो ज्ञान र सिप उजागर गर्ने ठाउँ मिल्यो । करिव १५ लाखको लगानीमा झण्डै ६ महिना पहिले मात्र स्पेस डेकोर खुलेको हो । लामो अनुभवले गर्दा स्पेस डेकोर संचालनमा आएको छोटो समय मै उनीहरुले धेरैको माया र साथ पाएका छन् । जसले गर्दा उनीहरुमा थप उत्साह थपिएको छ ।

mangal

पोखराका दर्जनौं घर तथा व्यवसायिक प्रतिष्ठानको डिजाइन तथा निर्माण गरिसकेको यो जोडि अहिले स्पेस डेकोर मार्फत करिव दर्जनौं घर तथा होटलहरुको काम गरिरहेका छन् । लामा भन्छन्, ‘हामीले ‘स्पेस डेकोर’ स्थापना गरेको छोटो समयमा नै धेरैको साथ र माया पाएका छौं । यो हाम्रो कामले दिएको प्रतिफल हो ।’ घर बनाउनु पहिलेदेखि नै घरधनीको इच्छा र माग अनुसार जग्गाको अध्ययन गरी घरको आर्किटेक्ट डिजाइन, कोठाको बनौट र अवस्था लगायत कसरी बलियो र कलात्मक बनाउन सकिन्छ भन्ने कुराको परामर्श दिएर घरधनीको स्वीकृतिमा उनीहरुले काम गर्ने गरेका छन् ।

घरधनीले आफ्नो लगानी गर्ने रकम सहित खुलेर प्रविधिकहरुको सल्लाह र परामर्शमा जिम्मा दिँदा घरधनी र निर्माण गर्ने प्राविधिक दुवैलाई सहज बन्ने लामाले बताए । लामा भन्छन्,‘हामी काम लिएर हातरमा थालिहाल्नु भन्दा पनि एउटा स्तरिय सेवा दिन र लामो सम्वन्ध बनाउन चाहन्छौं ।’ घर तथा व्यवसायिक भवन बनाउनु पहिले निशुल्क परामर्श दिने लामाले बताए । ‘हामीले घरधनीको चित्त बुझाउँदै सम्पूर्ण काम गछौं । निश्चित रकम लिएर नक्सा पनि बनाउँछौं । वास्तुशास्त्र अनुसार हामीले गरेको काम र डिजाइन धेरैले मन पराएका छन् ।’ सामान्य कुरा मिलेन भने पनि धेरै समस्याहरु आउँछन् । त्यसैले घर बनाउँदा इन्जिनियर तथा प्राविधिकहरुको सल्लाहमा मात्र घर बनाउन लामाको आग्रह छ ।

आर्किटेक्ट र इन्टिरियर इञ्जिनीयर अनुसार घर बनाउन महँगो पर्छ भन्ने होइन । प्राविधिकको सल्लाह अनुसार सस्तोमा पनि राम्रो र आकर्षक घर तयार गर्न सकिने लामाको भनाई छ । पछिल्लो समयमा ‘लो कष्ट हाउजिङ’को अवधारणामा आफैले डिजाइन गरेर सस्तोमा राम्रो घर बनाउने गरेको लामा बताउँछन् ।

घर तथा व्यवसायिक प्रतिष्ठानहरु बनाउँदा लाग्ने भनेको गिटी, बालुवा, सिमेन्ट, छड, इट्टा, ढुङ्गा रङ लगायतका सामाग्री नै हुन् तर त्यसलाई पनि मिलाएर कलात्मक तथा आकर्षक डिजाइन दिन सकिन्छ । जसका कारण हेर्दा पनि सुन्दर देखिन्छ । यसैगरी घर तथा होटल, रेष्टुरेन्ट, रिसोर्ट, वैंक तथा वित्तिय संस्था र व्यवसायिक प्रतिष्ठानहरु बनाउँदा ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा त्यसको भित्रि डिजाइन पनि हो । अहिले प्रविधिले फड्को मारेको छ । घर, घर भित्रको कोठाहरु, साम्राग्रीहरुको प्रयोग कहाँ र कसरी गर्ने भन्ने कुरा घर बनाउनु भन्दा पहिले नै देख्न सकिने भएकाले कतै मन नपरे फेरी डिजाइन गर्न सकिने भएकाले यसवारेमा चिन्ता र पीर गर्न नपर्ने स्पेस डेकोरका संचालक लामा बताउँछन् । यसो गर्दा समय, सामाग्री र पैसाको समेत बचत हुने उनले बताए ।

बघर कस्तो बनाउने भनेर थ्री डि प्रविधिवाट तयार पारिएको घर पहिले नै हेर्न सकिने भएका कारण पनि अव तघ घर, होटल तथा रिसोर्टहरुमा बन्ने रुमका बेड, दराज, पर्दा, (कार्पेट, टायल) किचन, ड्रसिङ टेवल, सिलिङ, लिभिङ रुममा प्रयोग गरिने सामाग्रीको सही रुपमा व्यवस्थापन र कलात्मकता दिनु अर्को महत्वपूर्ण कुरा हो । सामाग्री छनौट गर्दा आफ्नो रुमको बनौट, साइज अनुसार छनोट गर्न लामाको सुझाव छ । एउटै सामानलाई महङ्गो तिर्नु भन्दा त्यही खर्चमा सबै कुराको व्यवस्थापन र आकर्षक बनाउन पनि सकिन्छ । जसका कारण हेर्दा सुन्दर र प्रयोगमा सजिलो मात्र हुँदैन पैसाको सही सदुपयोग र बचत पनि हुनसक्छ ।

घर तथा भवन बनाउँदा भवन आचारसंहितालाई ख्याल गर्दै प्राविधिकहरूको रेखदेखमा आर्किटेक्टले भवनको डिजाइन तयार गर्ने र त्यसलाई इन्टिरियल तथा सबै पक्षको समन्वयमा आकर्षक, कलात्मक र बलियो बनाउन आँफुहरु लागी पर्ने लामाको भनाई छ । पोखराका धेरै घरधनीहरु अझै पनि आर्कीटेक्ट र इन्टिरियका लागि काठमाडौं धाउने गर्दा समन्वयको अभावले समस्या हुने गरेको भन्दै लामा भन्छन्,‘पोखरामै राम्रो काम हुन्छ, काठमाडौं जानुपर्दैन, काठमाडौंवाट काम हुँदा खर्च पनि धेरै लाग्छ ।’ दुःख र मेहनतले कमाएको पैसालाई सहि तरिकावाट सदुपयोग गर्न सुझाउँछन् लामा । घर तथा व्यवसायिक भवन बनाउँदा व्यवहारिक र वैज्ञानिक बनाउनुपर्ने उनको भनाई छ । उनको यही क्षेत्र र ‘स्पेस डेकोर’ लार्ई अझ व्यवसायिक र व्यवहारिक बनाउने सोंच छ ।

यस्तै सोंच स्मिताको पनि छ । उनले पोखरामा यसको ठूलो संभावना देखेकी छन् । पोखरा एक मुख्य पर्यटकीय शहर भएका कारण पनि यहाँका घर तथा भवनहरु कलात्मक र सुन्दर बनाउन सक्ने हो भने अझ पर्यटन क्षेत्रमा टेवा पुग्ने उनको विश्वास छ । लगानीको सही सदुपयोग र नयाँ डिजाइन दिन सक्ने हो भने आउँदा दिनमा पोखराको थप महत्व बढ्ने उनले वुझाई छ । यो अभियानमा यूवा जोस जाँगर र नयाँ सोंचलाई यही क्षेत्रमा लगानी गर्ने स्मिताको संकल्प छ ।