इजरायल तथा हमासले दीर्घकालीन युद्धविराम घोषणा,


गाजा नगर (एएफपी), भाद्र १२ – गाजा क्षेत्रमा दीर्घकालीन युद्धविराम घोषणा भएपछि यस क्षेत्रको आकाश बुधबार शान्त देखिएको छ। एक दशकमा सबैभन्दा घातक देखिएको हिंसा अन्त्य भएपछि इजरायल तथा हमास दुवैले ५० दिने युद्धमा आफू विजयी भएको दाबी गरेका छन्।

युद्धग्रस्त क्षेत्रमा बसोबास गर्ने दसौं लाख जनताले शान्तिपूर्ण रात बिताउन पाएका छन्। यसबीच गाजामा कुनै पनि आक्रमण भएको छैन। प्यालेस्टाइनीले पनि रकेट प्रहार नगरेको इजरायली सेनाले जानकारी दिएको छ।

दुबै पक्षमा बन्दुक शान्त देखिएको अवस्थामा सेनाका एक प्रवक्ताले युद्धविराम लागू भएको १२ घन्टामा गाजामा आईडीएफका क्रियाकलाप नदेखिएको र इजरायलमा रकेट आक्रमण नभएको बताए। १६०० जीएमटीमा मंगलबार उक्त युद्धविराम लागू भएको थियो। त्यसलाई वासिङ्टनका साथै राष्ट्रसंघका महासचिव बान कि-मुनले स्वागत गरेका छन्। उनले यसबाट इजरायल तथा प्यालेस्टाइनबीच शान्तिवार्ता पुनः सुरु हुने आशा व्यक्त गरेका छन्।