ग्रिसको प्रहरीले सोधे ‘अफगानस्थानबाट शव बुझिसके, नेपालले किन चासो नदिएको ?


कृष्ण पोखरेल 

झन्डै एक महिना अघि गैर कानुनि रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा ७ जना आप्रबासीहरुको गाडी दुर्घटनामा मृत्यु भएको खबर आयो।घटनामा अन्य आठ जना घाइते भएको खबर अन्तर्राष्ट्रिय मिडियाहरुबाट समाचार बाहिरियो।ग्रिसभित्रको खबर भएकाले हामी सबैलाई चासो हुनु स्वभाविक नै हो। 

अझ ति समाचारहरुमा घाईते हुनेमा नेपालीहरु पनि उल्लेख गरिएको थियो। घाईते भनेर आएको हुँदा ग्रिसमा बस्ने नेपालीहरुलाई सबैभन्दा चासोको विषय नै थियो। १५ जना आप्रबासी बोकेको गाडी प्रहरीको अवरोधबाट बच्न खोज्दा नियन्त्रण गुमाएर दुर्घटनामा परेको समाचारमा उल्लेख थियो। 

घटनाको केहि दिन पछि दुई नेपाली घाईतेहरुको नाम नेपाली मिडियामार्फत सावर्जनिक भयो। भीमेश्वर नगरपालिका-९ दोलखाका ३३ बर्षीय मनु लामा र गौरीगंगा नगरपालिका -४ राजीपुर कैलालीका ३० बर्षीय लोकराज आचार्य अस्पतालबाट डिस्चार्ज भए। 

घाईते मध्ये आचार्य भाई मेरै रेष्टुरेन्टमा पनि आए। उनिसँग कुराकानी भयो। घटनाको बेलिविस्तार उनले सुनाए। दुई जना नेपाली सकुशल रहेपनि बाँकी ४ जनाको अवस्था थाहा हुन सकेन। घाईतेहरुबाट नै अन्य ४ जना नेपालीहरु पनि संगै यात्रा गरेको खुल्न आयो। 

पहिले त उनीहरु सबै जना सकुशल न्ने होलान् नै अपेक्षा गरियो।तर लामो समयसम्म पनि उनिहरु परिवारको सम्पर्कमा आएनन्। यसले थप शंका उत्पन्न हुँदै गयो। नेपालदेखि परिवारजनले आफ्नो मान्छे सम्पर्कमा नआएको भन्दै नेपाली समुदायमा पनि फोन आईरहन्थ्यो। 

हामी ग्रिसमा बस्छौ।यहाँ नेपाली दूतावास पनि छैन। न त टर्कीमा नै छ। आधिकारिक निकाय नहुँदा सम्पर्क गर्ने कुनै आधार भेटेनौं। लामो समयसम्म सोहि  गाडीमा आएका चारै जना  परिवारको सम्पर्कमा नआएपछि मृत्युको आशंका त भयो।तर पुष्टि गर्ने कुनै आधार नै भेटिएन। न त कसैले देखेको छ।न त आधिकारिक रुपमा नै पुष्टि गर्ने आधार नै छ। त्यो वीचमा सरकारी संयन्त्र मार्फत सम्पर्कको प्रयास पनि देखिएन। सकुशल भेटिएका ति दुई नेपालीहरुले पनि घटनापछि आँफूहरुलाई याद नभएको, अस्पतालबाट डिस्चार्ज हुँदा आँफूहरु दुईजना मात्रै भेटिएको सुनाए। 

दुर्घटनामा मृत्यु भएकाहरुको शव टिचिङ्ग हस्पिटल अफ आलेक्सएन्ड्रोपोलीमा रखिएको भन्ने हामीले थाहा पायौं। 

अस्पतालसँगको सम्पर्क प्रयास जारी राख्यौ। तर तपाई घटनामा परेको मान्छेको को -हो? भन्ने प्रश्न आउँछ। त्यो स्वभाविक पनि हो। विधि,नियम र प्रक्रियामा नै चल्ने हुँदा हामीलाई यथार्थ बुझ्न धेरै कठिन भयो। 

अस्पतालले हामीलाई आधिकारिक मान्छे नभएको र आँफन्त पनि नभएकाले शव हेर्न वा सनाखत प्रक्रियाबारे बुझ्न कुनै पनि विवरण दिन नसक्ने बतायो। तर पटक -पटक अनुरोध गर्यौं। २५ बर्षदेखि यही एथेन्समा बस्दै आएको छु। यहाँ नेपालको कुटनीतिक निकाय नभएको र घटनामा परेका आँफन्तहरुले सिधै सम्पर्क गर्ने अवस्था नभएकाले समन्वय गर्न अस्पताललाई अनुरोध गरे। तर अस्पतालले आफ्नो नियम विपरित कुनै पनि काम गर्न नसक्ने बतायो। 

त्यसपछि हामीले ग्रिसलाई समेत हेर्दै आएको नेपाली राजदूतावास भियनामा सम्पर्क गर्यौं। राजदूतावासलाई ग्रिस नेपाल सोसाईटीको तर्फबाट एक अनुरोध पत्र पठायौं।  डिसेम्बर १० मा  पत्र लेखेका थियौं।दुर्घटनामा परेका नेपालीहरु परिवारको सम्पर्क नआएको र अर्कोतर्फ अस्पतालमा शवहरु अलपत्र रहेको सुनियो। उनिहरु नेपाली हुन् वा होईनन् ? पहिचानका लागि दूतावासबाट एउटा आधिकारिक पत्र बनाईदिन अनुरोध गरेका थियौं। 

 दूतावासले पनि यस विषयमा चासो ब्यक्त गरेको पायौं। उता नेपालमा पनि कन्सुलर सेवा बिभागमा आफन्तहरुले सत्यतथ्य बाहिर ल्याईदिन निवेदन दिएको हुँदा राजदूतावासको पनि चासो बढ्दै गयो। 

अन्तत: अष्ट्रियास्थित नेपाली राजदूतावास भियनाबाट म कृष्ण पोखरेलको नाममा डिसेम्बर १३ मा एउटा पत्र आयो। सरकारी तवरबाट शव पहिचानका लागि मलाई अक्तियारी दिदै दूतावासले एउटा लेटर बनाईदियो।सोहि लेटर लिएर अस्पतालसँग सम्पर्क गर्न सहज भयो। 

पत्र प्राप्त भएको भोलिपल्टै अर्थात डिसेम्बर १४ मंगलबार अस्पताल जाने समय निकाल्यौं। हामी बस्ने एथेन्स सहर। शवहरु राखिएको टिचिङ्ग हस्पिटल अफ आलेक्सएन्ड्रोपोलीमा। म र  ग्रिस निवासी व्यवसायी सन्तोष आचार्य भाई १० घण्टा लामो ड्राइभ गरेर आलेक्सएन्ड्रोपोली सहरमा पुग्यौं। यो सहर टर्कीको बोर्डरसंगै पर्छ। चार जनाकै राहदानीको कपी र फोटोहरु संकलन गरेर अस्पताल पुगेका थियौं।  

  मेरो नाममा मात्रै अक्तियारी पत्र भएकाले अस्पताल भित्र छिरे। अस्पतालमा मृत्यु भएका ब्यक्तिहरुको शव खिचेर राखिएको रहेछ। उनिहरुको फोटो मलाई देखाईयो। फोटो हेर्दा तीन जनाको अनुहार मैले मिल्दोजुल्दो देखे।तर एक जनाको यकिन गर्न सकिन। मान्छेको मृत्युसँग जोडिएको बिषय अन्दाज र अनुमान गरेर हुँदैन भन्नेमा म धेरै सचेत छु।

कम्तिमा अस्पतालले उपलब्ध गराएको फोटो देखेपछि अलपत्र शवहरु नेपालीहरुकै रहेको पक्का चाहिँ भयो। तर मैले फोटो हेरेर मिल्यो भन्दैमा अस्पतालले सनाखत गर्ने कुरै आएन। डिएनए म्याच गरेर मात्रै सनाखत गर्न सकिने अस्पतालले बतायो। 

त्यसपछि मलाई प्रहरीको बयान दिन लगाईयो। मैले बयान दिए। मैले त्यहाँ प्रष्टरुपमा बताए। घटनामा परेका कोहि पनि नेपालीहरु मेरा आँफन्त होईनन्। यसअघि चिनजान भएको पनि होईन। एकपटक देखेका मान्छेहरु पनि होईनन्। तर उनिहरु नेपाली हुन्। एक नेपालीलाई पर्दा अर्को नेपालीलाई हामीले आँफन्तभन्दा नजिक सोच्छौ।

 यहाँ २५ बर्षदेखि बस्दै आएको एक पुरानो नेपालीको नाताले यहाँ आएको सुनाए। प्रहरीले पनि डिएनए म्याच भएपछि मात्रै शवहरु जिम्मा लगाउन सक्ने बताए। 

त्यतिबेला प्रहरी अधिकारीले अन्य मुलुकबाट शवहरु दुई तिन भित्रै बुझेको सुनाए। २५ दिनसम्म शवहरुबारे कसैले चासो नदेखाए पछि प्रहरीले पनि अचम्म मान्दै मलाई सुनाए। अफगानस्थानजस्तो देशबाट पनि आएर शवहरु बुझिसके।’  नेपालजस्तो देशबाट पनि चासो नआएको भन्दै  ति प्रहरी अधिकारीले आश्चर्य प्रकट गरे। उनिहरुको नजरमा नेपाल र नेपाली प्रतिको सोचाई अग्लो रहेको मैले महशुस गरे। 

प्रहरीले मृतकहरुको डिएनए एथेन्स पठाईसकिएको र इन्टरपोलमा राखिएको पनि सुनाए। नेपालमा परिवारलाई डिएनए परिक्षण गराएर इन्टरपोलमा राख्न र डिएनए म्याच गरेर सनाखत गर्न उनिहरुले सुझाव दिए। 

डिएनए परिक्षण गर्न र सबै प्रक्रिया पूरा गर्न लामो समय लाग्न सक्ने मैले सुनाए।आँफन्तलाई फोटो देखाएर सनाखत गर्न सम्भव भए प्रक्रिया सजिलो हुने प्रस्ताव उनिहरु माँझ राखे।परिवारलाई आफ्नो मान्छे चिन्न सजिलो हुने बताए। तर प्रहरीले सबै विवरण दिन नमिल्ने, फोटोहरु दिन नसक्ने बताएपछि प्रक्रिया अनुसार नै जाने कुरा भयो। 

मैले मृत्युको आंशका गरिएका सबैको विवरण प्रहरीलाई उपलब्ध गराए।मेरो सम्पर्क नम्बर दिए। मैले पनि मागे। त्यहाँबाट विदा भएर म एथेन्सतर्फ नै फर्किए। 

मैले नेपाली राजदूतावास भियनालाई पनि अस्पतालसँगको कुराकानीबारे जानकारी गराए। प्रहरीसँगको कुराकानी र वयानबारे पनि प्रष्ट पारे।

एन्थेस फर्किएको भोलिपल्ट पनि फेरि प्रहरीसँग कुराकानी भयो। मृतकका आँफन्तहरुले डिएनए परिक्षण गरेर पठाउन धेरै ग्राहो हुनसक्ने र धेरै समय लाग्न सक्ने फेरि दोहोर्याए भने। 

प्रहरीले मृतकको फोटोहरु इन्टरपोलमा राखिदिने बिषयमा सहमत जनाए। जसले गर्दा परिवारले पनि नेपालदेखि नै फोटो हेरेर पहिचान गर्न सक्ने देखियो।यदी फोटोबाट सम्भव नभएमा डिएनए नै अन्तिम विकल्प हो। अब बाँकी प्रक्रियाको विषयमा नेपाली राजदूतावास भियनाले नै हेरेको छ।

२५ बर्षदेखि म यहाँ ग्रिसमा बस्दाखेरि अहिलेसम्म ४ वटा मात्रै मृत्युका घटनाहरु छन्।यो पाँचौ घटना हो। पहिले एउटा शव नेपाल पठाउदा ४-५ हजार युरोको हाराहारीमा खर्च भएको थियो।

सनाखतकै प्रक्रिया नसकिएसम्म बाँकी कुरा अघि बढ्ने देखिदैन। आफ्ना छोराछोरी गुमाउदाको पिडा परिवारलाई छदै छ। केहि कमाउने सपना देखेर युरोप छिरेका नेपालीहरुको दर्दानक पिडाले सबैको मन रोएको छ।

 आशा गरौं सबैको सहयोगमार्फत सबै प्रक्रिया छिट्टै टुंगिने छ।
( विगत २५ बर्षदेखि ग्रिसमा बस्दै ग्रिस नेपाल सोसाईटीका संस्थापक अध्यक्ष कृष्ण पोखरेलसँग नेपालीनेपालीडटकमसँग टेलिफोनमा गरेको कुराकानीको सम्पादित अंश ।)