ग्रिसमा दुर्घटनामा परी ४ जना नेपालीको मृत्यु


बार्सिलोना। मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परि ४ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परि मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको हो। 

दुर्घटनामा परि मृत्यु हुनेमा गौरीगंगा नगरपालिका -४ कैलालीका लक्ष्मण सापकोटा, भिमेश्वर नगरपालिका-६ दोलखाका राजु लामा, छोदिङमो गाउँपालिका -३ रसुवाकी रमिला घले (शर्मिला तामाङ्ग भनिने) र घिरिङ् गाउँपालिका -५ तनहुँका ओम बहादुर थापा रहेका छन्। 

 

ग्रिसको प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मा मृतकको फोटो राखेको थियो। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको नेपाली राजदूतावास भियनाले जनाएको छ। 

दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले  भने, ‘कन्सुलर सेवा विभागबाट सोमबार दूताबासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको छ। अब शवलाई नेपाल पठाउने प्रक्रिया हामीले सुरु गरिसकेका छौ।’ 

दुर्घटनामा परी घाईते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ। भीमेश्वर नगरपालिका-९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका -४ राजीपुर कैलालीका लोकराज आचार्य सोहि गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए। हाल ग्रिसको एथेन्स सहरमा रहेका उनिहरुबाट नै गाडीमा अन्य ४ जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो। 

गत मंसिर ८ मा  सम्पर्कमा आएका लामा र आचार्यले आफूहरु भाग्यले बाँचेको बताएका थिए। ‘टर्कीबाट १३ दिन जंगलको बाटो हिँडेर १४ दिनको दिनमा हामीले गाडी चढेको हो । त्यसको केही मिनेटमा नै दुर्घटनामा पर्‍यौं’ लामाले भने ।

‘लक्ष्मण, राजु, लोकराज, म र एकजना अफगानी गरी हामी पाँच जना गाडीको डिक्कीमा थियौं । शर्मिला (रमिला), ओम अन्य पाकिस्तानी अफगानी र ड्राइभरसहित १० जना अगाडि थिए’ उनले घटना स्मरण गर्दै भने, ‘गाडी हिँडेको आधा घण्टामा दुर्घटना भएको हो । लौ पुलिसले गाडी पछ्यायो भन्दै पाकिस्तानी बोलेको मैले डिक्कीमा सुनेको थिएँ । त्यसपछि गाडी झनै स्पिडमा गुड्यो । कन्ट्रोल भएन । एक्कासी ठोक्किएको आवाज आयो ।’

घटनापछि आफू बेहोस भएको उनले सुनाए । ‘अस्पताल पुगेको भोलिपल्ट मात्रै मेरो होश आएको हो । शरीर एकदमै दुख्यो । कानमा अलि चोट लागेको हो । तर अहिले सबै सामान्य नै छ’ लामाले भने।

अर्का घाइते आचार्यको भने देब्रे हात भाँच्चिएको छ । ‘हामी ड्राइभरपट्टीकै साइडमा थियौं । त्यही साइडमा  ठोक्किएको चर्को आवाज आयो । त्यसपछि मलाई केहि थाहा छैन । म बेहोस भएछु’ उनले सुनाए । हातमा अहिले केही दुखाई

भएपनि अरु अवस्था सामान्य नै रहेको आचार्य बताउँछन् । उनीहरुका अनुसार गाडी पल्टिएको नभई प्रहरीको अवरोधबाट बच्न खोज्दा नियन्त्रण गुमाएर ठोक्किएको हो ।

‘गाडी त्यति ठूलो आकारको होइन । यहाँका पहेलो ट्याक्सी जत्रै आकारको तर कालो रंगको गाडी थियो’ उनले  भने । ओभरलोड त्यसमाथि तीब्र गतिमा गाडी गुडेको हुँदा दुर्घटनामा परेको आंशका गरिएको छ । 

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपाली सहित सातजना आप्रवासीको सो दुर्घटनामा मृत्यु भएको थियो। दुर्घटनामा दुई नेपाली सहित आठ जना घाइते भएका थिए।