स्विट्जरल्याण्डमा देउसी -भैलो (फोटो फिचर सहित )


जुरिख। स्विट्जरल्याण्डका नेपालीहरु घरघरमा देउसी भैलो खेल्दै तिहार मनाएका छन्। मुलेहन, आराउ र बेचिकोन शहरहरु शुक्रबार देउसी भैलो खेल्दै उनीहरुले तिहार मनाएका हुन्।

विगत पाँच दशकदेखि स्विट्जरल्याण्डमा नेपालीहरुको बसोबास रहेको अनुमान छ। तर  देउसी-भैलो खेल्ने परम्परा भने  विगत तीन बर्ष यता सुरु भएको बताईन्छ।

आयोजक  मध्येकी एक  मुना भट्टराई आचार्यले यो पटक पनि देउसी-भैलो कार्यक्रमलाई निरन्तरा दिएको बताईन्। ‘पहिलो बर्ष हामीले निर्धक्क भएर देउसी खेल्यौं। तर गत बर्ष र अहिले कोभिडको कारण त्यति सहज थिएन। तर सुरक्षा मापदण्ड अपनाउदै आफ्नो परम्परालाई निरन्तरता दिएका हौँ।

मुलेहनमा आफ्नै निवासमा देउसी खेल्न आएको टोलीसँगै एनआरएनए स्विटजरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामाले कम्मर मर्काइन्। ‘देउसीको रौनक ल्याउने यो टोलीलाई म धन्यवाद दिन्छु। विगत तीन बर्षदेखि उहाँहरुले नेपाली चाडपर्वबारे स्विसबासीहरु माँझ चिनाउने कोशिस गर्नुभएको छ।’ अध्यक्ष लामाले भनिन्।

दोस्रो पुस्ताका बालबालिकाहरु पनि देउसी कार्यक्रममा सहभागी बनेकाले उनिहरुलाई नेपाली कला, संस्कृती र भाषा सिक्न प्रेरित गर्ने ठानिएको छ।