गौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्ब बुद्धमूर्ति कोलकता आईपुग्यो 


बार्सिलोना।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकता आईपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आईपुगेको हो।   

‘म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनलाई दिएको बुद्धमूर्ति हो। फाउन्डेसनलाई नेपाल सरकारलाई हस्तान्तरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने हाम्रो योजना हो।’ फाउन्डेसनका महासचिव गिरीले अनलाईनखबरलाई भने। 

गिरीका अनुसार १ हजार ८ सय केजी तौल भएको मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ।’ बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति  बनेकाले यो महङ्गो हुन गएको हो।’ उनले भने। 

कागाजी प्रक्रिया मिलाएर दुई साताभित्र  बुद्धमूर्ति नेपाल आईपुग्ने फाउन्डेसनले जनाएको छ। 

बुद्धमूर्ति अनावरणका लागि राष्ट्रपतिलाई निमन्त्रणा : 

फाउन्डेसनले बुद्धमूर्ति अनावरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रणा दिएको छ। बिहिबार फाउन्डेसनका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीलाई शितलनिवासमा भेटबार्ता गर्दै निमन्त्रणा दिएका हुन्। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्तिको  कार्तिक १४ मा अनावरण गरिने कार्यक्रम रहेको छ। 

राष्ट्रपतिसँगको भेटबार्ताबारे जानकारी गराउदै फाउन्डेसनका महासचिव एकराज गिरीले भेटवार्तापछि थप सकारात्मक उर्जा प्रदान भएको बताए। ‘फाउन्डेसनले नेपाल र विशेष गरी लुम्बिनीको सेरोफेरोमा गर्न खोजेका कामहरु लगायत बिबिध गतिबिधि बारेमा राष्ट्रपतिलाई जानकारी दियौं।उहाँले नेपालका लागि काम गरेकोमा खुशी ब्यक्त गर्दै फाउन्डेसनलाई धन्यबाद दिनुभयो।’ महासचिव गिरीले भने। बुद्वको शान्ति सन्देशलाई संसारभर फैलाउने फाउन्डेसनको अभियानलाई राष्ट्रपतिले मुक्तकण्ठले प्रंशसा गरेको उनले बताए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गार्डेन फाउन्डेसनका गतिबिधिबारे चासो ब्यक्त गरेकी छिन्।स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा बन्ने लुम्बिनी गार्डेन बनाउने योजनाबारे राष्ट्रपति भण्डारी चासो ब्यक्त गरेकी हुन्। लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्व रुपैयाँ खर्च गर्दै सो नगरमा गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि सारेको छ।  

राष्ट्रपतिसँगको भेटवार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसद सुर्य पाठक,फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभा,उपाध्यक्ष गोबिन्द सुबेदी लगायतको उपस्थिति रहेको थियो।