स्पेनिश डाक्टरहरुको सहयोगमा लुम्बिनीमा निशुल्क स्वास्थ्य शिविर सुरु


बार्सिलोना।स्त्री तथा प्रजनन स्वास्थ्य सम्बन्धी निशुल्क स्वास्थ्य शिविर कार्यक्रम लुम्बिनीमा सुरु भएको छ।लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा प्रादेशिक अस्पताल र स्पेनिस डाक्टरहरुको प्राविधिक सहयोगमा चार दिने स्वास्थ्य शिविर शुक्रबार सुरु भएको हो। 

स्वास्थ्य शिविर उदघाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका छन्।अध्यक्ष तिमिल्सिनाले उदघाटन कार्यक्रममा बोल्दै स्पेनदेखि  विशेषज्ञ डाक्टरहरु आएर स्वास्थ्य शिविर संचालन गर्नुले नेपालमोह झल्कने बताउनुभयो। लुम्बिनी गार्डेन फाउन्डेसनले नेपाल र स्पेनबीचको सम्बन्धलाई प्रगाढ बनाएको भन्दै अध्यक्ष तिमिल्सिनाले मुक्तकण्ठले प्रंशसा गरे।  स्वास्थ्य शिविरबाट हजारौं विपन्न वर्ग लाभान्वित हुने अपेक्षा फाउन्डेसनले राखेको छ। लुम्बिनी साँस्कृतिक नगरपालिकाको अनुरोधमा लुम्बिनीमा एक अत्याधुनिक मोडेल अस्पताल बनाउन पहल भईरहेको फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभाले बताए। ‘अन्तर्राष्ट्रिय स्तरबाट आर्थिक, प्राविधिक सहयोगका लागि पहल र काम गरिरहेको छ।त्यसको प्रारम्भिक चरणको रुपमा अहिले स्वास्थ्य शिविर लिएर नेपाल आएका हौ।’’ उनले भने। 

लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (मेत्तया भन्ते), लुम्बिनी गार्डेन फाउन्डेसन उपाध्यक्ष गोविन्द सुबेदी, महासचिव एकराज गिरी लगायतको उपस्थिति रहेको थियो।

लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन स्पेन बीच पनि विगत ४ बर्ष देखि सहकार्य हुँदै आएको छ। बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार एवम् अनुभवको आदानप्रदान तथा लुम्बिनीको विकासको लागि अन्तर्राष्ट्रिय सहयोग भित्राउन सहकार्य हुँदै आएको फाउन्डेसनले जनाएको छ। 

फाउन्डेसनकै पहलमा लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्पेनको म्याड्रिड तथा क्याथेरस नगरसँग छुट्टाछुट्टै रुपमा भगिनीसम्बन्ध जोडेको छ। केहि बर्ष यता स्पेन र नेपालबीचको सहकार्य पनि बढ्दै गएको छ।