राजनीतिक,क्षेत्रगत हिसाबले न्यायिक समूह बनाएका छौ : डा. केसी 


बार्सिलोना । गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा.बद्री केसीले न्यायिक समूह बनाएको दावी गरेका छन्। राजनीतिक,क्षेत्रगत र जनजातिको सहभागीताको हिसावले पनि आँफूहरुले न्यायिक समूह बनाएको दावी गरेका हुन्। बर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका डा.केसीले आफ्नो एजेण्डासंग सहमत उम्मेदवारहरुलाई साथमा लिएर औपचारिक रुपमा उम्मेदवारी घोषणाको तयारी समेत थालेका छन्।

नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै उनले भने, ‘हरेक ब्यक्तिको आस्था वा राजनीतिक बिचारधारा हुन्छ। एनआरएनमा राजनीतिक बिचारधारा नल्याईकिन कमसेकम स्वतन्त्र भएर काम गर्नका लागि नै सबै राजनीतिक बिचारधाराका सबै मान्छेहरुलाई समेटेकै हो।’ उनले आफ्नो एजेण्डासंग सहमत उम्मेदवारहरुलाई साथमा लिएको भन्दै यसलाई प्यानलको रुपमा लिन नहुने बताए। 

समूह निर्माण गर्नु बिधान विपरित भएन र भन्ने प्रश्नमा डा. केसीले भने, ‘एजेण्डासंग सहमत उम्मेदवारहरुलाई समेटेका हौ।   निर्वाचनको प्रक्रिया हुँदैगर्दा सबै क्षेत्रलाई समेट्नको लागि यो प्रयास थालिएकोहो। यसलाई प्यानलको रुपमा बुझ्नुहुँदैन।’ 

को को छन् डा. केसी समूहमा ?

डा. केसी समूहबाट ६ जना उपाध्यक्षहरु (एक महिला र एक युवा अनिवार्य) उम्मेदवारहरुको टुङ्गो लागेको छ। उपाध्यक्षका उम्मेदवारहरुमा डा. हेम राज शर्मा (यूके), महेश कुमार श्रेष्ठ (जापान),डिबी क्षेत्री(ओमान)  र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहेका छन्। महिला उपाध्यक्षमा यसमिन बेगम सैयदले (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका) बाट उम्मेदवारी दिने भएका छन्।

अमेरिकी क्षेत्रबाट महासचिवमा गौरीराज जोशीलाई अघि सार्ने तयारी डा. केसी समूहले गरेको छ। जोशी बर्तमान कार्यसमितिका सचिव समेत हुन्। एक महिला अनिवार्य सहितको ४ जना सचिव पदका उम्मेदवारहरुमा रामशरण सिम्खडा (यूके), चिरन्जीबी घिमिरे (क्यानाडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टिका) गुरुङ (हङकङ) रहेका छन्। 

कोषाध्यक्ष पदमा लोक प्रसाद दाहाल (बेल्जियम) को नाम तय भएको छ । सहकोषाध्यक्ष पदको उम्मेदवार भने टुंग्गो लगाउन बांकी छ । तर महिला सहकोषाध्यक्षमा भने यमुना भट्टराई (अमेरिका) को नाम चयन भएको छ । यस्तै,महिला संयोजकमा संगिता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्यालको (आयरल्याण्ड) ले उम्मेदवारी दिने भएका छन्। 

समूहमा राजनीतिक गठबन्धन:

डा. केसी समूहले चलाखीपूर्वक राजनीतिक गठबन्धन मिलाएर समूह बनाएको छ। केसी समूहमा प्रजातान्त्रिक विचारधारका डा. हेमराज शर्मा,महेश श्रेष्ठ,यसमिन बेगम र रोशन थापालाई समेटेको छ। डिबी क्षेत्री, लोक दाहाल,ओम गुरुङ, मिलन छन्त्याल र संगिता मरहठ्ठालाई नेकपा माओवादी निकटको रुपमा चिनिन्छ। भने अष्ट्रेलियाका धर्मराज अधिकारीलाई नेकपा माधव नेपाल समूह निकटको रुपमा हेरिन्छ।नेकपा एमाले निकटका रुपमा रामशरण सिम्खडा, चिरन्जीबी घिमिरे रहेका छन्। 

त्यसो त अध्यक्षका प्रत्यासी स्वयं डा. केसी पनि एमाले निकटका रुपमा बताइन्छ।तर उनले आँफूलाई एनआरएन संस्थापन पक्षको उम्मेदवारको रुपमा दावी गर्छन्। 

आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ। नेतृत्वका लागि बेलायतका ब्यबसायी कुल आचार्य र अमेरिकाबाट रविना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन्।