एनआरएनए निर्वाचन : यी हुन् डा. केसी समूहका उम्मेदवारहरु


बार्सिलोना । गैर आबासीय नेपाली संघ (एनआरएनए) नेतृत्वका लागि डा.बद्री केसीले आफ्नो समूहबारे टुंगो लगाएका छन्।अध्यक्षका प्रत्यासी केसीले चुनावी मिति नजिकिदै गर्दा मुख्य पदका उम्मेदवारहरुबारे टुंगो लगाएका हुन्।

बर्तमान उपाध्यक्ष समेत रहेका डा.केसीले आफ्नो एजेण्डासंग सहमत उम्मेदवारहरुलाई साथमा लिएर औपचारिक रुपमा उम्मेदवारी घोषणाको तयारी समेत थालेका छन्। यसअघि अध्यक्षका प्रत्यासीहरु कुल आचार्य र रविना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन्।

डा. केसी समूहबाट ६ जना उपाध्यक्षहरु (एक महिला र एक युवा अनिवार्य) उम्मेदवारहरुको टुङ्गो लागेको छ। उपाध्यक्षका उम्मेदवारहरुमा डा. हेम राज शर्मा (यूके), महेश कुमार श्रेष्ठ (जापान),डिबी क्षेत्री(ओमान)  र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहेका छन्। महिला उपाध्यक्षमा यसमिन बेगम सैयदले (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका) बाट उम्मेदवारी दिने भएका छन्।

अमेरिकी क्षेत्रबाट महासचिवमा गौरीराज जोशीलाई अघि सार्ने तयारी डा. केसी समूहले गरेको छ। जोशी बर्तमान कार्यसमितिका सचिव समेत हुन्।

एक महिला अनिवार्य सहितको ४ जना सचिव पदका उम्मेदवारहरुमा रामशरण सिम्खडा (यूके), चिरन्जीबी घिमिरे (क्यानाडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टिका) गुरुङ (हङकङ) रहेका छन्।

कोषाध्यक्ष पदमा लोक प्रसाद दाहाल (बेल्जियम) को नाम तय भएको छ । सहकोषाध्यक्ष पदको उम्मेदवार भने टुंग्गो लगाउन बांकी छ । तर महिला सहकोषाध्यक्षमा भने यमुना भट्टराई (अमेरिका) को नाम चयन भएको छ । यस्तै,महिला संयोजकमा संगिता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्यालको (आयरल्याण्ड) ले उम्मेदवारी दिने भएका छन्।

आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ। नेतृत्वका लागि बेलायतका ब्यबसायी कुल आचार्य र अमेरिकाबाट रविना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन्।

समूहमा राजनीतिक गठबन्धन:

डा. केसी समूहले चलाखीपूर्वक राजनीतिक गठबन्धन मिलाएर समूह बनाएको छ। केसी समूहमा प्रजातान्त्रिक विचारधारका डा. हेमराज शर्मा,महेश श्रेष्ठ,यसमिन बेगम र रोशन थापा ठानिन्छन्। डिबी क्षेत्री, लोक दाहाल,ओम गुरुङ, मिलन छन्त्याल र संगिता मरहठ्ठालाई नेकपा माओवादी निकटको रुपमा चिनिन्छ। भने अष्ट्रेलियाका धर्मराज अधिकारीलाई नेकपा माधव नेपाल समूह निकटको रुपमा हेरिन्छ।नेकपा एमाले निकटका रुपमा रामशरण सिम्खडा, चिरन्जीबी घिमिरे रहेका छन्।

त्यसो त अध्यक्षका प्रत्यासी स्वयं डा. केसी पनि एमाले निकटका रुपमा बताइन्छ।तर उनले आँफूलाई एनआरएन संस्थापन पक्षको उम्मेदवारको रुपमा दावी गर्छन्।


न्यायिक समूह बनेको छ : डा. केसी 

अध्यक्षका प्रत्यासी डा केसीले राजनीतिक,क्षेत्रगत र जनजातिको सहभागीताको हिसावले पनि न्यायिक समूह बनेको बताए। उनले भने, ‘हरेक ब्यक्तिको आस्था वा  राजनीतिक बिचार धारा हुन्छ। एनआरएनमा राजनीतिक बिचारधारा नल्याईकिन कमसेकम स्वतन्त्र भएर काम गर्नका लागि नै सबै राजनीतिक बिचारधाराका सबै मान्छेहरुलाई समेटेकै हो।’

समूह निर्माण गर्नु बिधान विपरित भएन र भन्ने प्रश्नमा डा. केसीले एजेण्डासंग सहमत उम्मेदवारहरुको रुपमा बुझ्नु पर्ने बताए। ‘सबै क्षेत्रलाई समेट्नका लागि यो प्रयास हो। यसलाई प्यानलको रुपमा बुझ्नुहुँदैन।’ डा. केसीले भने।

युरोप संयोजकमा भट्टराई कि तिमिल्सिना ?

बद्री केसी समूहले युरोप संयोजकका दाबेदार जर्मनीका सन्तोष भट्टराई र बेलायतका कृष्ण तिमिल्सिना मध्ये एकलाई अघि सार्न छलफल सुरु गरेको छ। बर्तमान युरोप उपसंयोजक तिमिल्सिनालाई सहकोषाध्यक्ष पदमा सहमत गराउनकै लागि हाललाई पद खालि राखिएको स्रोतको दावी छ। अध्यक्षका प्रत्यासी डा. केसीले भने, ‘हामीले आरसी बारे निर्णय गरिसकेका छैनौ। उहाँहरु दुईजना मध्ये एकजनालाई अघि सार्छौ। केहि दिनभित्रमा नै निर्णय गर्छौ।’

तर डा. केसीले सह कोषाध्यक्ष पदमा तीनजना भन्दा बढी आकांक्षी भएकाले निर्णय नभएको बताए।