सभासदहरुको तलब ६ हजार २ सय बढ्यो


१० भदौ, काठमाडौ

ब्यवस्थापिका संसदका सदस्यले नियमित पाउँदै आएको मासिक तलबभत्ता गत साउनदेखि ६ हजार २ सय ९४ रुपैंया बढेको छ ।
संविधानसभा चुनावपछि ७४ हजार ३ सय ८८ पाउँदै आएका सभासदले साउनदेखि मासिक सुविधा ८० हजार ६ सय ८२ रुपैंयाँ लिने भएका छन् । शाखा अधिकृत बराबर हैसियत हुने सभासद्का स्वकीय सचिवको पनि २ हजार २ सय २० रुपैंयाँ वृद्धि भएपछि मासिक पारिश्रमिक २४ हजार ४ सय रुपैंयाँ पुगेको छ ।
गत आर्थिक वर्ष २०७१/०७२ को बजेट भाषणमार्फत कर्मचारीको तलबभत्ता १० प्रतिशत वृद्धि गरिएकाले त्यसैसँग समायोजन गर्दै सभासदको तलवभत्ता बढाइएको संसद सचिवालयले जनाएको छ । साथै गत असार ३१ गते बसेको मन्त्रीपरिषद वैठकले विशेष भत्तास्वरुप मासिक एक हजार रुपैंयाँ थप प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, वैठकमा उपस्थिति भत्ता दैनिक दुई सय र सवारी सुविधा नलिएकालाई उपस्तिति भएको दिनको एक सय रुपैयाँ सवारी भाडा सुविधा भने यथावत नै राखिएको छ ।
सभाध्यक्ष/सभामुख सुभाषचन्द्र नेम्वाङ्ले मासिक रुपमा दुई लाख १२ हजार ७ सय ८० रुपैंयाँ बराबर सुविधा लिनेछन्, जसमा मासिक पारिश्रमिक ५३ हजार ८ सय ५०, आवास २९ हजार, मसलन्द दुई हजार पाँच सय र पत्रपत्रिका तीन सय रुपैंयाँ पर्छ । मासिक दुई सय ५० लिटर पेट्रोल र १० लिटरको मोबिल सुविधा लिने सभाध्यक्षलाई मात्र धारा, विजुली र टेलिफोनको बिल अनुसार रकम भुक्तानी गरिनेछ । वाषिर्क रुपमा सभाध्यक्ष/सभामुख नेम्वाङका लागि राज्य कोषबाट २५ लाख ५३ हजार ३ सय ६० खर्च हुन्छ जसमध्ये एक लाख २५ हजार ८ सय ७० सचिवालय खर्च अन्तर्गत पर्छ ।