विधानको उलङ्घन गर्दै डा. केसी र आचार्य आ-आफ्नो प्यानल बनाउदै 


एनआरएनए अध्यक्षका प्रत्यासीहरु आचार्य (दायाँ) र डा. केसी (बायाँ)

बार्सिलोना। एनआरएनए अध्यक्षका प्रत्यासी डा. बद्री केसी र कुल आचार्यले चुनाव लड्नका लागि आ-आफ्नो प्यानल बनाउन सुरु गरेका छन्। संघको विधानले प्यानल बनाउन वर्जित गरेको भएपनि विधानको उलङ्घन गर्दै प्यानलको तयारी थालेका हुन्। अध्यक्षमा अमेरिका निवासी रबिना थापाले पनि उम्मेदवारी दिने बताईएपनि उनको समूहबारे खासै तयारी देखिएको छैन। 

डा. केसीको प्यानलमा को-को छन् ?

अध्यक्षका उम्मेदवार डा. केसीको समूहबाट मुख्य पदहरुमा उठ्ने उम्मेदवारहरुको टुङ्गो लागिसकेको केसीले जानकारी दिए। प्यानलबारे राखेको जिज्ञासामा डा. केसीले भने, ‘हामी संस्थापन पक्ष भएका कारणले पनि अहिले काम गरिरहनु भएका साथीहरु सहितको मेरो समाबेशी टिम बन्छ। त्यसमा बिभिन्न बिचारधारा भएका साथीहरुलाई एकै ठाउँमा राखेर एनआरएनलाई राजनीतिक मुक्त समाबेशी टिम बनाउदै छौ।’

डा. बद्रि केसी प्यानलबाट खुल्ला उपाध्यक्षतर्फ बेलायतवाट डा. हेमराज शर्मा,जापानबाट महेश श्रेष्ठ, मध्यपूर्वबाट डिबी क्षेत्री ले उम्मेदवारी दिने पक्का भएको छ। अहिलेको कार्यसमितिमा डा.शर्मा महासचिव,श्रेष्ठ कोषाध्यक्ष र क्षेत्री संघको प्रबक्ताको जिम्मेबारीमा रहेका छन्। 

यस्तै उपाध्यक्षमा नै अष्ट्रेलियाबाट धर्मराज अधिकारीको नाम चर्चामा रहेको छ। हाल संघको संसोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था रहेको छ। यस्तै महिला उपाध्यक्षमा साउदी अरबबाट यासिम बेगमलाई उठाउने तयारी केसी समूहले गरेको छ।  

संघको महासचिवमा अमेरिका निवासी गौरीराज जोशीको उम्मेदवारी पक्का भएको डा. केसीले बताए।जोशी हाल सचिवको जिम्मेबारीमा रहेका छन्। वर्तमान सह-कोषाध्यक्ष लोकप्रसाद दाहाललाई कोषाध्यक्षको उम्मेदवारको रुपमा अघि सार्ने तयारी केसी समूहले गरेको छ। 

यता सचिव पदमा भने १०-१५ जनाको नै नाम आएको डा. केसीले बताए। कोषाध्यक्षभन्दा तलका पदहरुमा अहिले नै निर्णय भईनसकेको पनि उनले बताए। ‘‘समय अझै बाँकी छ। आँफूहरुले मिलेर काम गर्न सक्ने मजबुत टिम बनाउने छौ।’ केसीले थपे। 

एनआरएन वृत्तमा सधैं चर्चा र महत्व पाउने युरोप संयोजक पदमा पनि केसी समूहले निर्णय गरिसकेको छैन।  बेलायतका कृष्ण तिमिल्सिना र स्पेनका मुक्त बहादुर गुरुङको नाम चर्चामा रहेको छ। यी दुई मध्ये एक जनालाई अघि सार्ने तयारी डा. केसीले गरेका छन्। अध्यक्ष अर्का प्रत्यासी आचार्यले पनि आफ्नो समूहलाई अन्तिम रुप दिन छलफललाई तिब्र पारेका छन्। 

आचार्यको प्यानलमा को-को छन् ?

‘संघको विधानले प्यानल बनाउन वर्जित गरेको कुरा सर्वविदित नै छ । तर  विचार र मुद्दा मिल्नेहरु एक अर्कालाई सहयोग गर्ने सर्तमा एकत्रित हुनु स्वाभाविक हो । टिममा बौद्धिक साथीहरु , सफल ब्यक्तित्वहरु, उद्यमी व्यवसायीहरु, सबै तप्का, क्षेत्र , समुदाय, पेशा  र समूहका साथीहरुको समावेसी टिम बनाएर अघि बढ्ने प्रण गरेका छौं । अध्यक्षका प्रत्यासी आचार्यले भने। 

 उनले आफ्नो टिमको महासचिवको उम्मेदवार अमेरिका निवासी डा. केशव पौडेल रहेको बताए। ‘अन्य पदमा एनआरएन अभियानमा लामो समय देखि सक्रिय, समाजले पत्याएका,  वरिष्ठ साथीहरुलाई समेटेर  छिट्टै एउटा समावेशी  टिम बनाएर अन्तिम रुप दिने तयारी भै रहेको छ । छिट्टै हामी घोषणा गर्ने छौं।’ उनले थपे। 

स्रोतका अनुसार आचार्य समूहबाट खुल्ला ४ उपाध्यक्षतर्फ मन केसी,सोनाम लामा, त्रिलोक गुरुङ, एसी शेर्पा,आर के शर्मा,हिक्मत थापा,सुनील साह मध्येबाट उम्मेदवारी पर्ने सम्भावना रहेको छ।यस्तै महिला उपाध्यक्षमा बेल्जियम निवासी जानकी गुरुङ र युवा उपाध्यक्षमा मध्यपूर्व युवा संयोजक राज रेग्मीको नाम चर्चामा रहेको छ। आचार्य समूहमा पनि सचिवका आकांक्षीहरुको संख्या बढी रहेको छ। 

कोषाध्यक्षमा वर्तमान सह-कोषाध्यक्ष लोकप्रसाद दाहालको नाम नै चर्चामा छ। यद्दपी दाहाललाई डा. केसीको समूहले आफ्नो उम्मेदवारको रुपमा दावी गर्दै आएको छ। तर आचार्य समूहमा नै कोषाध्यक्ष पदका लागि सोम सापकोटा नाम पनि चर्चामा रहेको छ। एनआरएनए युरोप संयोजकमा शुक्रराज न्यौपाने (आयरल्यान्ड) वा चिन्तामणी सापकोटा (स्पेन) मध्ये एकलाई अघि सार्ने आचार्य समुहको तयारी बुझिन्छ। 

अध्यक्षका प्रत्यासी डा. बद्री केसीको समूहले भने मुख्य पदहरुमा टुङ्गो लगाईसकेको बताएको छ। संघको विधानले प्यानल बनाउन वर्जित गरेको भएपनि आईसीसी तथा एनसीसीका निर्वाचनहरुमा विधानको उलङ्घन हुँदै आएको छ।