एनआरएनएद्वारा श्रमिकको अबस्थाबारे स्वेतपत्र जारी


काठमाडौं । वैदेशिक रोजगारमा रहेका आप्रवासी नेपाली कामदारको अवस्था र भावी रणनीति तय गर्न सहयोगी बनोस् भनेर गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् वैदेशिक रोजगार तथा कल्याणकारी विभागले स्वेत पत्र जारी गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्त, विभाग प्रमुख डा. बद्री केसी, उपाध्यक्ष रविना थापा र सल्लाहकार टिबी कार्कीले संयुक्त रुपमा स्वेतपत्र सार्वजनिक गरेका हुन् ।

वैदेशिक रोजगारका विज्ञ र विभिन्न क्षेत्रबाट दक्ष्यता हासिल गरेको व्यक्तिको सहयोगमा तयार पारिएको स्वेत पत्रले आगामी दिनमा नीति निर्माणमा सहयोग पुग्ने कार्यक्रममा बताइयो । कोभिड–१९ को संक्रमणमा एनआरएनएले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको उद्दारदेखि पुनस्र्थापनासम्मको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

रोजगारीका लागि विदेसिएका नेपालीले केवल विप्रेषण मात्र नभई सिप, दक्षता, क्षमता, अनुभव, काम गर्ने आधुनिक शैली, नेटवर्कसहित आएका हुन्छन् । यसको सदुपयोग स्वदेशमै अपेक्षाकृत रुपमा नभएको गुनासो व्यापाक आएको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्नेलगायतका विषयलाई सम्बोधन गर्न स्वेतपत्र सहयोगी बन्ने विभाग प्रमुख डा. केसीले बताए ।

नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि नेपाल सरकारले खोलेका १ सय १० देशको लागि सन् २०१९ र २०२० मा मात्रै झण्डै ४ लाख नेपालीले औपचारिक रुपमा नेपाल सरकारसाग श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारी देशको लागि मुख्य आय स्रोतको रुपमा रहेको छ । कुल गार्हस्थ उत्पादनमा (जीडीपी) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले रेमिट्यान्स मार्फत २४ प्रतिशतको योगदान गरेका छन् । विश्वव्यापी कोरोना भाइरसको महामारीमा वैदेशिक रोजगारी समेत पूर्ण रुपमा प्रभावित हुँदा मुख्य रुपमा मध्यपूर्वमा रहेका साउदी अरब, युएई, कुवेत, ओमन र बहराइन तथा मलेसिया लगायतका देशमा जाने नेपालीहरु समस्यामा परेका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अभिभावकत्वको जिम्मेवारी नेपाल सरकारको हो । विदेशमा अलपत्रमा परेका नेपालीहरुको उद्धार र सहयोगमा नेपाल सरकारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कोभिड–१९ को महामारीपछि गैरआवासीय नेपाली संघ, विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब २ लाख नेपालीहरुको उद्धार गरिएको छ । आगामी दिनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघको सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचनामार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहयोगको बाटो खोल्न यो श्वेतपत्रले आधार तयार पारेको कार्यक्रममा बताइयो ।

कोभिड–१९ का कारणले विभिन्न गन्तव्य देशस्थित अस्पतालमा उपचार गरिरहेका नेपालीहरुको लागि आवश्यक सहयोग पुर्‍याउन, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आवश्यक तालिम, कानूनी परामर्श, अलपत्रमा परेकाहरुको घर फिर्ती र कोरोना भाइरसको प्रभावका कारण वैदेशिक रोजगारीमा अलपत्र परेर स्वदेश फर्किएकाहरुको उचित व्यवस्थापन र विदेशस्थित नेपाली सरकारी नियोगहरुमा पर्याप्त साधन र स्रोतको समेत व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएकोले नीतिगत सुधारका लागि पनि यो श्वेतपत्र सहयोगी हुने देखिन्छ ।

वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिर्वतन सहित कयौं अवसर र चुनौतिहरुलाई समेटेर गैरआवासीय नेपाली संघको तर्फबाट स्वेतपत्र जारी गरिएको प्रवक्ता डिबी क्षेत्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो श्वेतपत्रमा विशेषतः नेपालको वर्तमान आप्रवासन स्थिति, गन्तव्य देशहरुमा नेपालीहरुको अवस्था र उनीहरुले भोग्नुपरेको समस्या, नेपालमा फर्किएका नेपालीहरुको पुर्नएकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिका लगायतका बारेमा वास्तविक रुपमा चित्रण गर्ने कोसिस गरिएको छ ।

कोभिड –१९ पछि नेपालमा वैदेशिक रोजगारीको अवस्था र नेपाली आप्रवासी कामदारले सामना गर्नुपर्ने समस्या र चुनौतीहरुको पहिचान गरेर त्यसको समाधानका लागि नेपाल सरकार र सरोकारवालाहरुलाई सचेत गराउने, साथै, नेपाली आप्रवासी कामदारहरुलाई सहयोग प्रदान गर्न सक्ने क्षेत्रहरुको पहिचान गर्ने उद्देश्यका साथ यो श्वेतपत्र जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।