एनआरएनए स्पेन : खुल्लातर्फ उपाध्यक्षका तीन उम्मेदवार


बार्सिलोना, जुलाई १४

एनआरएनए स्पेनको सातौँ अधिवेशनको दुई उपाध्यक्ष ((खुल्लातर्फ) पदका लागि तीन जना चुनावी मैदानमा उत्रिएका छन्। बार्सिलोना निवासी कृष्ण राम रानाभाट,सनु रावत र भूपेन्द्र कुमार श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका हुन्। तीन उम्मेदवार मध्ये रावत छैठौं अधिवेशनमा पनि उपाध्यक्षकै प्रतिस्पर्धी थिए।रानाभाट सन् २००९-२०११ कार्यकालका लागि कार्यसमितिका सदस्य हुन् भने श्रेष्ठ बर्तमान कार्यसमितिका सदस्य हुन्। 

स्नाकोत्तरको अध्ययन पूरा गरिसकेका उपाध्यक्षका प्रत्यासी रानाभाट सन् २००६ मा स्पेन प्रबेश गरेका थिए। ‘अध्यापन लगायत विभिन्न संघसंस्थाहरुमा काम गरेको अनुभव छ। एनआएनए स्पेनको केन्द्रिय भूमिकामा रहेर आफ्नो अनुभवलाई सामाजिक रुपमा प्रयोग गर्न चाहान्छु।’ रानाभाटले बताए। एनआरएनले दिर्घकालिन योजना बनाउनुपर्नेमा उनले जोड दिए। 

‘स्पेनमा नेपालघर वा नेपाल हाउस हामी सबैले परिकल्पना गरेको बिषय हो। जतिसक्दो बहस गर्नुपर्छ। त्यसका लागि अहिलेको कार्यसमितिको जिम्मेबारी पदमा रहेर एउटा ईटा थप्न चाहन्छु।’ उनले बताए। स्पेनमा भर्खर आएका नेपालीहरुलाई कागाजी प्रक्रिया लगायत स्थानीय स्तरमा घुलमिल गराउने खालका कामहरुको थालानी गर्न संघले सक्रियता लिनुपर्ने रानाभाटको धाराणा रहेको छ। 

विगत १५ वर्षदेखि स्पेनकोको बार्सिलोना सहरमा बस्दै आएका उपाध्यक्षका अर्का प्रत्यासी रावतले नेपाली समुदायको हितका काम गर्ने ईच्छा रहेकाले उम्मेदवारी दिएको जनाएका छन्। समाजिक संजाल फेसबुकमार्फत उपाध्यक्ष पदमा मनोनयन दर्ता गरिसकेको ठुलो साथ समर्थनको आशा गरेको बताएका छन्। ‘जित हार एक प्रकृया हो र निरन्तर स्पेनबासी नेपाली समुदायको हितका लागि काम गर्ने जानाकारी पनि दिन चाहन्छु ।यहाँहरुले मलाई आशिर्बाद दिई उपाध्यक्ष पदमा  विजयी गराउनु हुन अपिल गर्दछु।’ रावतले लेखेका छन्। 

उपाध्यक्षकै अर्का प्रत्यासी श्रेष्ठले संघको सदस्य भएर काम गर्दै गर्दा संघलाई आर्थिक रुपमा दिगो र थप पारदर्शी बनाउनु महसुस गरेको बताएका छन्। ‘संस्था आर्थिक रुपमा सम्पन्न भएन भने संघका गतिबिधीहरुलाई मुर्तरुप दिन सकिदैन । मेरो कार्यकालमा संघको आर्थिक उन्नती र दिगो संस्था बनाउन पूर्ण सहकार्य गर्ने र संस्थागत बिकासमा मेरो योग्यता र क्षमताले भ्याए सम्म लागि पर्ने प्रतिबद्धता पनि जनाउन चाहन्छु  ।’ उनले भने। 

एनआरएन स्पेनको सातौँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि जुलाई २६ मा मतदान हुँदैछ।