एनआरएनए बेल्जियम: महासचिवमा जनक सुबेदीले उम्मेदवारी दिने 


ब्रसेल्स। एनआरएनए बेल्जियमको २०२१-२०२३ कार्यकालका लागि महासचिवमा जनक सुबेदीले उम्मेदवारी घोषणा गरेका छन्। संघको नेतृत्व तहमा युवाहरु आउनुपर्ने भन्दै बर्तमान कार्यसमितिका सचिव समेत रहेका सुबेदीले उम्मेदवारी घोषणा गरेका हुन्। महासचिवका आकांक्षीहरु बढिरहेको बेलामा सुबेदी पनि चुनावी मैदानमा उत्रिएका छन्। 

एनआरएन बेल्जियमको अभियानमा विगत चार कार्यकालदेखि कुनै न कुनै रुपमा आँफू जोडिएको भन्दै सुबेदीले समुदायको हितमा काम गर्ने आफ्नो तिब्र ईच्छा शक्ति भएको बताएका छन्। ‘एनआरएनमा आजको आबश्यकता स्वस्फूर्त युवाहरूको सहभागिता’ यो नै मेरो प्रमूख मूलमत्र हो।’ सुबेदीले भने।

उनले विगत ४ कार्यकालदेखि संघको अभियानमा प्रत्यक्ष सहभागी हुँदै आई रहेको भन्दै थप जिम्मेवारीका साथ महासचिव पदमा रहन ईच्छुक रहेको बताए। संघमा युवाहरुको सहभागिता हुनुपर्ने,सामाजिक एकता,नेपाली कला र संस्कृतिको प्रवद्वन,एनआरएन हेल्प डेस्क,संघको आफ्नै कार्यालयजस्ता मुद्वाहरुमा नयाँ कार्यसमितिमा आँफूले आवाज उठाउने प्रतिबद्वता सुबेदीले गरेका छन्।

 ‘बेल्जियममा बसोबास गर्ने नेपाली बालबालिकाहरुलाई उनीहरुले सहज रुपमा बुझ्ने गरि( नेदरल्यान्ड -फ्रेन्च ) ट्रान्सñलेट सहितको अनलाईन नेपाली भाषा कक्षाको सुरुवात गर्न जरुरी छ।’ महासचिवका प्रत्यासी सुबेदीले भने।परोपकारी काममा आफ्नो सक्रियता रहेको बताउदै आँफूलाई मतदान गर्न बेल्जियमबासी नेपाली समुदायलाई उनले अनुरोध गरेका छन्। 

एनआरएनए बेल्जियमको एघारौं राष्ट्रिय महाधिवेशनका लागि उमेदवारी दर्ता तथा मनोनयन प्रक्रिया जुलाई १५ लाई तोकिएको छ।जुलाई २५ मा नयाँ कार्यसमिति चयनका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ।