एक्स्त्रेमादुराका मुख्यमन्त्री लुम्बिनी गार्डेनको मुख्यालयमा,नेपालको दुखमा स्पेनको साथ 


म्याड्रिड।  एक्स्त्रेमादुराका मुख्यमन्त्री गियर्मो फेर्नान्देज भाराले नेपालको दुखमा स्पेनले सहयोग गर्न पाउदा खुशी ब्यक्त गरेका छन्। लुम्बिनी गार्डेन फाउन्डेसनको म्याड्रिडस्थित मुख्यालय अवलोकन गर्न पुगेका उनले स्पेनबाट स्वास्थ्य सामाग्रीहरु नेपाल पठाउन पाउदा खुशी ब्यक्त गरेका हुन्। स्पेन सरकारले आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमानबाट १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री बुधबार राति नेपाल पठाएको छ।

झन्डै १० अर्व रुपैयाँ खर्च गर्दै  एक्स्त्रेमादुराको क्याथेरस शहरमा निर्माण हुने लुम्बिनी गार्डेनको योजनाको पछिल्लो प्रगतीविबरणबारे समेत उनले चासो ब्यक्त गरेका थिए। बुधबार फाउन्डेसनको मुख्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समेत भिडियो कन्फेरेन्समा सहभागि बने। भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले स्पेन सरकारले नेपालका लागि गरेको सहयोग प्रति मुख्यमन्त्री लगायत स्पेन सरकारप्रति आभार प्रकट गरे।  नेपालमा सहयोगका लागि एक्स्त्रेमादुरा प्रदेश मार्फत स्पेनको केन्द्रिय सरकारलाई फाउन्डेसनले समेत अनुरोध गरेको जनाएको छ।

यता स्पेनस्थित नेपाली राजदूताबासले स्पेनको परराष्ट्र मन्त्रालय,स्वास्थ्य मन्त्रालय र निजि क्षेत्र चेम्बर अफ कमर्सलाई पनि  नेपाल सहयोग गर्न पत्राचार गरेको थियो।

कार्यक्रममा संघीय संसदका सांसद डा. सुर्य पाठकले पनि भर्चुअल रुपमा सहभागिता जनाएका थिए। यस्तै लुम्बिनी गार्डेन फाउन्डेसनका प्रमुख संरक्षक निरज श्रेष्ठ, अध्यक्ष जोसे मानुयल भिलानोभा उपाध्यक्ष गोबिन्द सुबेदी,महासचिव एकराज गिरी लगायतले मुख्यमन्त्री भारालाई मुख्यालयमा स्वागत गरेका थिए।