स्पेनले चार्टर्ड विमानबाट १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठायो 


बार्सिलोना। स्पेनले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाएको छ। 

बुधबार राती राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामाग्रीहरु सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूताबासले जनाएको छ। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेकी छिन्। 

सहयोगका लागि अनुरोध गर्दै दूताबासले स्पेनको परराष्ट्र मन्त्रालय,स्वास्थ्य मन्त्रालय र निजि क्षेत्र चेम्बर अफ कमर्सलाई पनि पत्राचार गरेको थियो।

बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयसँग टेलिफोन कुराकानी गरेका थिए। उनले नेपाललाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकोमा स्पेन सरकारलाई धन्यवाद दिए। टेलिफोन कुराकानीमा दुई देशवीचको हित र सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

यसैबीच गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले सोहि विमानमा १७ हजार ६ सय सर्जिकल माक्स, सेनिटाइजर लगायत स्वास्थ्य सामाग्री पठाएको छ।