तिजले गर्दा पोखरामा दैनिक २देखि ३ केजी सुनको कारोवार


दिननाथ बराल

पोखरा, भाद्र ९-

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्व नजिकीदै गर्दा सुन चाँदी पसलहरुमा यति वेला निकै भिड्भाड सुरु भएको छ ।

महिलाहरुले सिंगारको रुपमा प्रयोग गर्ने सुनचाँदीका गरगहना बनाउन थाले पछि सुनचाँदी पसलहरुमा पसलहरुमा भिडभाड सूरु भएको व्यावसायीहरु बताएछन । महिलाहरुले आफ्नो गक्ष अनुसार सुनचाँदीका गरगहना बनाउन थालेकाले यति वेला धेरै सुनचाँदी पसलहरुमा उपभोक्ताहरुको भिड लागेको हो ।

सुन मङगो हुदै जादा असुरक्षा बढे पछि तथा पछिल्लो बर्षमा तिज पर्वलाई कम भड्किलो पार्न विभिन्न संघ संस्था तथा प्रशासनको समेत ध्यान पुगे पछि महिलाहरुले साना गरगहना लगाउने गरेको नेपाल सुनचाँदी व्यवसायी संघ कास्की शाखाका सचिव निर्मल दियालीले बताए । उनका अनुसार तिज पर्वको अवसरमा हिजोआज दैनिक जसो पोखरा क्षेत्रबाट करीब २ देखि ३ किलो सुनको कारोवार हुने गरेको छ ।

पहिला धनि बर्गका व्यक्तिहरुले ठुला गरगहना करीब एकै व्यक्तिले १० तोलासम्मको सुनका गरगहना लगाउने गरे पनि पछिल्ला बर्षदेखि स–साना गरगहनाहरु लगाउनाले मुस्कीलले २-३ तोला सुनका गरगहना लगाउने गरेको दियालीले बताए । पोखरा महेन्द्रपुलमा रहेको अघौं कालिका सुनचाँदी पसलका संचालक समेत रहेका समितिका सचिब दियालीले हिजोआज आफ्नो पसलबाट दैनिक जसो २३ तोला सुनको कारोवार हुने गरेको बताए । त्यसै गरी गोर्खा एण्ड बराह ज्वलर्सका संचालक हरी धमलाले हरितालिका तिज पर्व देखि आफुहरुको सिजन सुरु भएको बताए । उनले भने “तिज पर्व पछि दशैं, तिहार र विवाहको मौसम आउने भएकोले अब हाम्रो लागि सिजन सुरु भएकोले यति वेला पसलमा उपभोक्ताहरुको निकै भिडभाड सुरु भएको छ । ” सरकारले सुन चाँदी पसलहरुमा अनुगमन गरेकोले पसलेहरु मात्र सचेत नभई उपभोतक्ताहरु समेत सुन किन्दा सचेत भएको धमलाले बताए ।

 

पोखरा क्षेत्रमा २ सय भन्दा बण्ढी सुनचाँदी पसल रहेको दियालीले बताए । नेपाल सुनचाँदी व्यावसायी महासंघले पछिल्लो क्रममा सातामा पोखरा क्षेत्रको लागि ३ केजी सुन उपलब्ध गराउदै आएको उनले बताए । व्यवसायीको माग अनुसार नेपाल सरकारले सुन उपलब्ध गराउन नसक्दा अवैध सुनको समेत कारोवार हुने गरेको व्यवासायीहरु बताउछन । सुनका साना गरगहनाहरुमा सिक्रि, रानीहार, टप, मिनि नेकलेस लगायतका पर्दछन भने ठुला गरगहनामा सिक्रि, रानीहार, चुरा, तिलहरी लगायतका पर्दछन ।

पोखरा क्षेत्रमा आइृबतार प्रतितोला सुनको ५३ हजार ७ सय रुपैयामा कारोवार भयो । सरकारले नेपाल राष्टबैंंक मार्फत व्यावसायीहरुलाई सुन वितरण गर्दै आए पनि बैंकले व्यवसायीहरुलाई पारदर्शीरुपमा सुन वितरण नगरेको उनीहरुले आरोप लगाउदै आएका छन । यति वेला सरकारले व्यावसायीहरुलाई साप्ताहिक रुपमा २० केजी सुन उपलब्ध गराउदै आएको छ । पोखरा क्षेत्रमा भारतका बंगाली जातिहरुले सुन चाँदीका गरगहना बनाउन कालिगणको रुपमा काम गर्दै आएका छन ।

पोखरा क्षेत्रमा करीब एक हजार ५ सय जति कालिगण भए पनि आधा जसो भारतका बंगाली कालीगणहरु भएको सचिव दियालीले बताए । कालिगणले सुनका प्रत्यक गरगहना बनाएको छुट्टाछुट्टै ज्याला लिने गर्दछन । उनीहरुले प्रति सानो गहना बनाएको ३ सय देखि हार बनाएको ८ हजारसम्म ज्याला लिने गरेको बंगाली कालीगण रतन मालाकारले बताए । विगत ८ बर्षदेखि पोखरामा कालिगणको रुपमा काम गर्दै आएको बताएका उनले भारतमा भन्दा नेपालमा धेरै कमाई हुने भएकोले नेपाल आएको प्रत्रिक्रिया दिए । उनीहरु जस्ता दक्ष कालिगणले मासिक रुपमा करीब ५० हजार ज्याला पाउने गर्दछन ।

बंगालीहरुले ठुला गरगहना बनाउछन भने नेपाली कालिगणले साना गरगहना बनाउदै आएका छन । बार्षिक रुपमा करीब ४० करोडको कारोवार गर्ने विदेशी कालिगणहरुले हालसम्म नेपाल सरकारलाई कुनै कर तिरेका छैनन । यसमा नत स्थानीय सरकारले उनीहरुसंग कर उठाने कुनै रणनिति नै बनाएको छ । बार्षिक रुपमा सुन तथा चाँदीको काम गर्ने कालीगणले पोखरा क्षेत्रबाट मात्र ४० करोड कारोवार गर्दा कुनै कर तिरेका छैनन भने नेपालमा करीब अर्व बढी कालीगणले विदेश पैसा लैजाने भएकोले यसमा नेपालको लाखौ राजश्व गुमेको व्यवासायीहरु बताउछन ।