विप्लवकी भतिजी र छोरा दुबै खतरामुक्त,आफ्नै इच्छा अनुसार विष सेवन


काठमाडौं, भदौं ८ –

नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दका कान्छा छोरा १६ वर्षीय नरेन्द्र र उनका दाजु जयन्द्रकी छोरी १७ वर्षीया मञ्जुले शनिबार साँझ घरमा कोही नभएका बेला विष सेवन गरे ।

चावहिल मैजुबहालस्थित चन्दको डेरामा विष सेवन गरेर छट्पटिइरहेको अवस्थामा छिमेकीले उद्धार गरेर ओम अस्पताल पुर्याए । परिवारले सुरुमा मास्क लगाएर आएका तीन अज्ञात व्यक्तिले उनीहरुलाई जवर्जजस्ती विष खुवाएर भागेको दाबी गर्यो । तर प्रहरीले चन्दको डेरामा उनीहरुको सुसाइड नोट फेला पारेपछि विष खुवाइएको भन्दै दाबी असत्य प्रमाणित भयो । उनीहरु दुवैको चावहिलस्थित ओम अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
सुरुमा अचेत अवस्थामा रहेका उनीहरु दुवै होसमा आइसकेका छन् । आइतबार बिहान नेत्रविक्रम चन्द र जयन्त चन्दले ओम अस्पताल पुगेर आफ्ना छोराछोरीसँग भेट गरेका छन् । उनीहरुलाई भेटिसकेपछि चन्द दाजुभाइले सञ्चारकर्मीसँग भने–‘आवेशमा आएर उनीहरु आफैंले विष सेवन गरेका रहेछन् ।’ प्रहरीका अनुसार उनीहरुले कोठामा सुसाइड नोट समेत लेखेर विष सेवन गरेका थिए । ‘अहिलेसम्मको अनुसन्धानबाट नरेन्द्र आफैंले सुसाइड नोट लेखेको देखिन्छ’ महानगरीय प्रहरी वृत्त गौशलाका डीएसपी अभिनारायण काफ्लेले भने–‘सुसाइड प्रयास हो भन्नेमा परिवार पनि कन्भिन्स हुनु भएको छ ।’

ललितपुरको कुसुन्तीमा परिवारसँगै बस्ने मञ्जु शनिबार मात्र काकाको डेरा चाबहिल गएकी थिइन् । विष सेवन गर्दा डेरामा भाई नरेन्द्र र उनी मात्र थिए । उमेरले एक वर्ष फरक भएका उनीहरु आपसमा एकदमै मिल्थे । नरेन्द्रसँगै उनले पनि किन विष सेवन गरिन् ? यो आश्चर्य र आशंकाको विषय भएको छ । नेपाली समाजमा दिदीभाईको सम्बन्धलाई पवित्र सम्बन्धका रुपमा लिइन्छ ।
तर, प्रेमी प्रमिकाले जसरी सँगै विष सेवन गरेका कारण अनुसन्धानमा संलग्न प्रहरीसमेत अल्मलिएको छ । ‘प्रेमीप्रेमिका भनौं दिदीभाईको सम्बन्धलाई त्यसरी सोच्दा पनि पाप लाग्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘उनीहरुले सँगै विष खानुपर्ने कुनै कारण नै देखिंदैन, यस्तो घटना पहिलोपटक देखियो ।’

अहिले नरेन्द्र र मञ्जु दुबैको अवस्था खतरामुक्त रहेको छ । उनीहरु बोल्न सक्ने अवस्थामा फर्किएको पारिवारिक स्रोतले जानकारी दियो । नरेन्द्रका पिता विप्लव र मञ्जुका पिता जयन्त दुबै नेकपा–माओवादीका केन्द्रीय नेता हुन् । नरेन्द्र भीएस निकेतनमा कक्षा १० मा पढ्ने भने मञ्जु युनाइटेड कलेजमा कक्षा ११ मा पढ्थिन् ।