थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं – ‘कोरोनाको संक्रमणको आशंकामा परीक्षण र संक्रमितको उपचार नि:शुल्क गर्न नसकिने’ भन्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले गलत ठहर्‍याएको छ । यसअघि सर्वोच्च अदालतले नै गरेको फैसला उल्ट्याउनुपर्ने माग राखी सरकारले दर्ता गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो ।

यता पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । गएको २४ घण्टामा १८ जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१ लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ४०३ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३६ हजार ५१४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम आइसोलेसनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।