पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा कोभिड–१९ पुष्टी


काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३९ जनामा कोभिड–१९ (कोरोना भाइरस) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार १६५ जनाको पिसीआर परीक्षण गरिएकामा एक हजार ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । हालसम्म आठ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएकाे हाे ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनामा काेराेना स‌क्रमण पुष्टी भएकाे छ । आज देशभर सक्रिय सङ्क्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । संस्थागत आइसोलेशनमा सात हजार ७३० र होम आइसोलेशनमा सात हजार ३८७ रहेका छन् । अहिले देशभरका क्वारेन्टिनमा छ हजार ५३६ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७३ जना कोरोना जितेर घर फर्केका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेको संख्या ३८ हजार ६९७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ । आज देशभर १६९ कोरोनाका सङक्रमित आइसियुमा छन् । भेन्टिलेटरमा उपचाररत २३ जना छन् । कोरोनाका कारण आजसम्म ३४५ जनाको मृत्यु भएको जनाइएको छ ।

पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, ललितपुर र भक्तपुर छन् । शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला र डोल्पा छन् । विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड ८९ लाख ४७ हजार ५१० पुगेको छ । कोरोनाबाट निको हुनेको सङ्ख्या दुई करोड आठ लाख १३ हजार २२१ रहेको मन्त्रालयले जनाएको छ ।