अविरल वर्षापछि आएको पहिरोमा परि पोखरामा ७ को मृत्यू


पोखरा- अविरल वर्षापछि गएराती आएको पहिरोमा परि पोखराका विभिन्न ठाउँमा ७ जनाको ज्यान गएको छ । अन्य १३ जना घाइते भएका छन् ।

पोखराको सराङ्कोटमा पहिरो जाँदा सबैभन्दा धेरै ५ जनाको ज्यान गएको भने ८ जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङ्कोटस्थित गोठादीमा राती करीब २ः४५ बजे आएको पहिरोले स्थानिय टंकबहादुर थापाको घर पुरिदा एकै परिवारका २ सहित ५ जनाको मृत्यू भएको हो । छोरी पिंकी थापाको जन्म दिन मनाएर सुतेका उनीहरुको पहिरोले पुरिएर ज्यान गएको हो । मृत्यू हुनेमा घरधनी ५० वर्षिय टंकबहादुर थापा, उनकी श्रीमती ४० वर्षिया सोममाया थापा, टंकको दाईको नाती ६ वर्षिय सुवान थापा तथा टंककी साली सरस्वती श्रेष्ठका ८ वर्षिय छोरा शीतल श्रेष्ठ र छिमेकी ईशिका थापाको मृत्यू भएको पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।

घट्नामा परि मृतक टंक थापाकी जेठी छोरी २२ वर्षिया पिंकी थापा, उनकी ४ वर्षिया छोरी पिरिसा थापा, टंककी कान्छी छोरी १८ वर्षिया आशा थापा, टंककी साईंला दाइकी छोरी १९ वर्षिय रश्मी थापा मगर, माइला दाइ शेरबहादुर थापा मगरकी छोरी १९ वर्षिय रशी थापा, टंकका मित छोरा १९ वर्षिय अनिश तामाङ, टंककी साली २८ वर्षिया सरस्वती श्रेष्ठ र उनको १० वर्षिय छोरा सन्देश श्रेष्ठ घाइते भएका हुन् । उनीहरुको टाउको, छाती, हात र खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ ।

घाइते मध्ये पिंकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य ७ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।

पोखरा–२५ हेमजामापनि गएराती पहिरो जाँदा १ जना बृद्धाको ज्यान गएको छ । हेमजास्थित शरदचन्द्र अधिकारीको घर राती करबि ३ बजे आएको पहिरोले पुरिदा अधिकारीका आमा हिमकली अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । बृद्धा आमालाई घरमा छाडेर अधिकारी दम्पती छिमेकीकोमा बास बस्न गएकाले उनीहरु भने ज्यान जानबाट जोगिएका छन् । पहिरोले ३ वटा बाख्रासमेत पुरेको प्रहरीले बताएको छ ।

पोखरा महानगरपालिका–२६ पैतेडाँडामा पहिरोले घर पुरिदा एक जनाको मृत्यू भएको छ भने ३ जना घाइते भएका छन् । स्थानिय दुर्र्गाबहादुर सुनारको टिनले छाएको ब्लकको घर पहिरोले भत्काउँदा घरधनी अन्दाजी ३२ वर्षिय सुनारको मृत्यू भएको हो । पहिरोले बगाएको उनलाई प्रहरी र स्थानियले विहान मृतअवस्थामा भेट्टाएका थिए । सुनारकी श्रीमति, एक छोरा र छोरीलाई भने सकुशल उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ ।

त्यस्तै, पोखरा १७ छोरेपाटन सिमलटुँडामापनि पहिरोले घर पुरिदा ३ जना घाइते भएका छन् । राती आएको पहिरोले स्थानिय चन्द्रबहादुर मगरको घर पुरिदा उनकी श्रीमती शान्ति मगर र छोरा सुशन मगर घाइते भएका हुन् । उनीहरुको विरौटास्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

पोखरा ३३ भरतपोखरीमापनि पहिरोले बगाउँदा २ जना घाइते भएका छन् । स्थानिय ‘मीठो पानी’ कम्पनीमा काम गरिरहेका बेला विहान करीब ८ः३० बजे एक्कासी माथिबाट आएको पहिरोले बगाउँदा सुरज अधिकारी र सुदन अधिकारी घाइते भएका हुन् । सुदनको अवस्था सामान्य भएपनि सुदनको अवस्था मध्यम रहेको जनाइएको छ ।