संविधान संशोधन विधेयक राष्ट्रियसभामा सर्वसम्मत स्वीकृत


काठमाडौं – राष्ट्रिय सभाले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आइतबार बसेको दोस्रो बैठकमा कानूनमन्त्री शिवमाया तुम्बाहाम्फले प्रतिनिधिसभाबाट शन्देससहित प्राप्त संविधान संशोधन विधेयकमाथी छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिन । प्रस्ताव स्वीकृत भएपछि बैठकमा सैद्धान्तिक छलफल भएको थियो ।

विधेयकमाथीको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाको दिँदै कानुनमन्त्री तुम्बाहाम्फले नेपालका सबै राजनीतिक दलहरु राष्ट्रियताको सवालमा एक हुन्छनु भन्ने पुष्टि भएको र संविधान संशोधनको विषय नेपालको आन्तरिक विषय भएकाले छिमेकी मुलुकले टिप्पणी नगर्दा उचित हुने बताइन् ।

सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले नयाँ नक्सा जारी भएपछि अब भूमि फिर्ता ल्याउन प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुले भारतसंग वार्ता, छलफल र उच्चस्तरीय कुटनीतिक तथा राजनीतिक सम्वादबाट नै गुमेको भूमि फिर्ता ल्याउन पहल गर्नुपर्ने धारणा राखेका छन् ।

आइतबार बसेको राष्ट्रियसभाको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७’ टेबुल गरे ।

भारतले अतिक्रमण गरेको भू–भाग समेटेर नेपालको नक्सा अद्यावधिक गरेपछि अद्यावधिक नक्सालाई निशान छापमा राख्न सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो । विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरिसकेको छ ।