कोरोना महामारी: स्पेनमा मृतक संख्या १० हजार नाघ्यो


म्याड्रिड। स्पेनमा नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार १० हजार नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्र ९ सय ५० जनाको मृत्यु भएसँगै बिहीबार मध्याह्नसम्म मृतक संख्या १० हजार ३ पुगेको छ । 

स्पेनमा हालसम्म १ लाख १० हजार २ सय ३८ संक्रमित पुष्टि भइसकेका छन् भने संक्रमण र मृत्युदर अझै बढिरहेको छ । २६ हजार ७ सय ४३ निको भएर घर फर्किएका छन्। कोरोनाका कारण मृत्यु हुने संख्याका आधारमा स्पेन इटालीपछि विश्वकै सबैभन्दा प्रभावित राष्ट्र हो । 

लकडाउन र प्रतिबन्धका कारण स्पेनमा सरकारले उपलब्ध गराउने बेरोजगार भत्ता लिनका लागि दरखास्त दिनेको संख्यामा पनि रकेर्ड कायम भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।