स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो,


बार्सिलोना,अप्रिल १ (जीएनएन) 
स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १ लाख नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा सात हजार ७१० नयाँ संक्रमित भेटिएका हुन् ।यससँगै स्पेनमा समग्र संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६ पुगेको हो ।

मन्त्रालयको तथ्यांकअनुसार स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट आठ सय ६४ जनाले ज्यान गुमाएका छन् ।यो अहिले सम्मकै उच्च हो। पाँच दिन यता मात्रै मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ।  यससँगै मृतकको कुल संख्या ९ हजार ५३ पुगेको छ । यो इटाली पछिको सबैभन्दा धेरै संख्या हो। तर स्पेनमा २२ हजार ६ सय ४७ जना संक्रमितहरु उपाचारपछि निको भएर घर फर्किएका छन्। 

स्पेनमा अझै महामारी नियन्त्रणमा आउने छाँट देखिएको छैन ।महामारीसँग जुध्न अस्पतालहरुले निकै संघर्ष गरिरहेका छन्। साढे ५ हजार बिरामी सघन उपाचारको आबश्यकतामा रहेका छन्।  सरकारी अधिकारीहरुले भने छिट्टै कोरोना भाइरसको महामारी कम हुँदै जाने बताएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको कामको विपक्षी र यसअघि सरकारलाई साथ दिएका पार्टीले पनि आलोचना गरिरहेका छन् । आलोचकहरुले सरकारले यो भाइरस नियन्त्रणको लागि निकै सुस्त गतिमा आफ्नो कदम अघि बढाइरहेको बताएका छन् ।