स्पेनमा थप तीन जना नेपालीलाई कोरोना संक्रमण


बार्सिलोना । स्पेनमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । यसअघि ४ जनामा संक्रमण देखिएको थियो। यो सँगै स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ। २ जना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। तर उनिहरुलाई अस्पतालकै निगरानीमा होटलका छुट्टै कोठाहरुमा आईसोलेसनमा राखिएको नेपाली समुदायका अगुवाहरुले बताएका छन्। 

संक्रमितहरुमध्ये बार्सिलोनास्थित सान्तपाओं अस्पतालमा एक जना, हस्पिटल दे सान्त खोवान देस्पिमा २ जना, भालदेब्रन युनिभर्सिटि अस्पतालमा १ जना र हस्पिटल दे मारमा १ जनाको उपाचार भईरहेको छ। बिगत चार दिन यता नयाँ ३ जना संक्रमितहरु थपिएका हुन्। उनिहरु सबै स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका छन्। संक्रमित मध्ये ६ जना पुरुष र एक महिला रहेका छन्। 

एक सातादेखि आईसीयूमा उपाचार गराईरहेका एक नेपालीको स्वास्थ्यमा भने सुधार आएको छ। एनआरएनए स्पेनका पूर्व अध्यक्ष भिषमकुमार गुरुङले (अनिल) दिएको जानकारी अनुसार उनलाई मंगलबारदेखि आईसीयूबाट जनरल वार्डमा सारिएको छ। गुरुङले भने,”दिनको एकपटक डाक्टरले फोन गरेर जानकारी दिने गरेको छ। उहाँको स्वास्थ्यमा सुधार आएको छ।”

स्रोतका अनुसार संक्रमितहरु ६ वटा छुट्टाछुट्टै परिवारका हुन् । उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यहरु पनि स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेका थिए । हालसम्म कसैलाई पनि संक्रमण देखिएको छैन ।स्पेनमा झण्डै १० हजार नेपालीहरु छन् । क्याटालोनिया क्षेत्रमा ३ देखि ४ हजारसम्म नेपालीहरु बस्दै आएको अनुमान छ । 

गत १४ मार्चदेखि पुरै देश लकडाउन गरेपनि स्पेनमा कोरोनाको महामारी अझै नियन्त्रण हुन सकेको छैन । बुधबार मध्यान्नसम्म १ लाख २ हजार १३६ जना संक्रमित भएका छन्। स्पेनको स्वास्थ्यमन्त्रालयले ९ हजार ५३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। २२ हजार ६ सय ४७ जना उपाचारपछि निको भएर घर फर्किएका छन्।