पोखरा उद्योग बाणिज्य संघको महाधिवेसनको तयारी तिव्र पुर्व सहमति तोडिएकोमा पुर्व अध्यक्षतालाई चिन्ता


दिननाथ बराल

पोखरा, ६ भाद्र-

पोखराको जेठो संस्थाको रुपमा रहेको पोखरा उद्योग बाणिज्य संघको यही भाद्र २० र २१ गते हुन लागेको ३० औं महाधिवेसनको तयारी तिव्र पारिएको छ । संघको अध्यक्ष पदका संजीव बहादुर कोईराला र विन्दुकुमार थापा विच प्रतिष्प्रर्धा हुने पक्का भए पछि एक महिना अघि देखि दुवैतर्फ प्यानल वाईज घरदैलो कार्यक्रममा गुट र उपगुट हुदै लागेका छन । संघका अध्यक्ष रहेका कोईराला नाताले थापाका ज्वाई पर्दछन । थापा संघको हाल प्रथम उपाध्यक्ष रहेका छन । दुई बर्ष अघि पनि यी दुबै जना नाताले ज्वाई जेठान पर्ने भए पनि संघको अध्यक्षको पदमा उठने पक्का भए पछि अन्तिम समयमा आएर एक प्रकारको सहमति भएर सर्वसम्वतमा कोइराला अध्यक्ष भएको बताईन्छ ।

दुई बर्ष अघि थापासंग समन्वय र सहकार्य गरेर अघि बढ्ने लिखित सम्झौता भएको तर आफ्नो कार्यकालमा पहिलो बैठकबाटै थापाले असहयोग गरेको कोइरालाले विहिबार पोखरामा पत्रकार सम्मेलन गरी बताए । आफुले गरेका केहि कामहरुलाई पुरा गर्न तथा आफ्ना साथेहरुको आग्रहमा पुनः आफ्नो उमेदवारी भएको प्रष्ट्याउदै कोइरालाले थापाले राष्ट्रिय औधोगिक व्यापार मेला २०६९ को प्रयोजक व्याबस्थापन उपसमितिको संयोजक लिनुपर्नेमा प्रतिपक्षको भुमिकामा रहेर संघमा विभाजनको रेखा कोरेको कोइरालाको आरोप छ । पोखराको निजी क्षेत्र, समग्र पोखराको हित र विकासमा समर्पित हुने प्रण सहित चुनावी अभियानमा जुटेको कोइृरालाले बताए ।

थापाले संघमा गुट र उपगुटलाई उचाल्दै हिडेकोले आफ्नो अधिकाशं पदाधिकारीहरुले त्यस्तो व्यक्तिलाई नेतृत्व सुम्पन तयार नभएकाले आफ्नो पुन उमेदवारी दिएको कोईरालाले बताए । संघका द्धितीय उपाध्यक्ष इश्वर कर्मचार्यले कोईरालाले ल्याएका केहि योजनाहरु पुरा गर्न उनले पुनः एक कार्यकाल अध्यक्ष बन्न चाहेकोले समर्थन गर्न लागेको बताए । संघका महासचिव नारायण कोइरालाले संजीवले ल्याएका कार्यक्रमलाई पुरा रुप दिन कामको स्प्रीडलाई मुर्त रुप दिन पनि आफुहरुले कोईरालालाई सहयोग गर्न लागेको बताए । संघका सदस्य विश्वशंकर पालिखेले कोईरालाले राम्रो काम गरेकोले प्रोत्साहन गर्न पुनः उनलाइ अध्यक्षको लागि आफुहरुले सहयोग गर्ने बताए ।

यता अध्यक्ष अर्को प्रत्यासी विन्दुकुमार थापाले अन्तिम समयमा आएर कोइरालाले सहमति गर्ने विश्वास लिएका छन । उनले भने “उहाँलाई मैले ज्वाई समझेर अघिल्लो पटक अर्को पटकको लागि भनि भद्र सहमतिको आधारमा सहयोग गरे, तर मलाई पुर्ण विश्वास छ, उहाँ अन्मि समयमा सहमतिमा आउनु हुन्छ । ” साथेभाईको उक्सावटमा लागेर पहिलाको सहमति वेगर कोइराला हिडेको थापाले आरोप लगाए । उनले भने “ मैले कोईराला जीलाई असहयोग गरेको भए ३६ वटा बैठकमा मध्य कुनै एकमा नोटअफ डिसेन्ट लेख्थे होला, कुनै कुराको बिरोध गर्दा बैठकमा होहल्ला गरी टेवल ठोक्थे होला तर त्यस्तो केहि भएन कसरी मैले असहयोग गरे । ” कोइराला जीले संघको सिंगो टिमले गरेको कामको जस एक्लो अध्यक्ष भएको नाताले लिने काम गर्न खोज्नू राम्रो नभएको थापाले बताए ।

पुर्व अध्यक्ष दिपक श्रेष्ठको घरमा मौखिक (भद्र) सहमति भए पछि संघमा पुर्व अध्यक्ष विच सफ्ट सहमति लिखित रुपमा भएको आधारमा म प्रथम उपाध्यक्ष र उहाँ अध्यक्ष भएर अर्को पालो मेरो नेतृत्वमा संघ अघि बढ्ने भन्ने सहमति भएका थापाले जनाए । संघको सिंगो २१ जनाको टिममा आफुतर्फ ११ जना भएको थापाले दाबी गरे भने आधा भन्दा बढी पदाधिकारी आफ्नो पक्षमा भएको कोइरालाले दाबी गरेका छन । अघिल्लो बर्ष भएको सहमति वेगर कोइृराला पुनः अध्यक्ष पदमा उठ्न लागेर संघमा गुट तथा उपगुट हुने वातावरण सृजना भएकोमा पुर्व अध्यक्षहरुले चिन्ता व्यक्त गरेका छन ।

संघका पुर्व अध्यक्ष कृष्ण मोहन श्रेष्ठले भने “जगवले सहमति भएको हो, सहमती नभएको भए किन थापा प्रथम उपाध्यक्ष भए । ” पहिलाको सहमति पालना नगरेकोले पुनः आफुहरुले पहिलेकै पात्र बिचको सहमति खोज्न जानु कुनै तुक नहुने समेत उनले बताए । उनले भने “व्यापारमा प्रतिवद्धता हुन्छ, निजी क्षेत्र सधै प्रतिवद्ध हुनुपर्दछ, पुर्व अध्यक्षहरु विच गरेको सहमति तोडेर एक्लै हिड्छन भने हामीले भन्नु केहि छैन।

” अर्क पुर्व अध्यक्ष दिपक श्रेष्ठले मौखिक सहमति भएको तर संजीव कोईरालाले पुनः अध्यक्षमा उठ्न लागेकोले आफुहरु छक्क भएको बताए । ्उनले भने “म लायन्सको भएकोले र उनीहरु पनि लायन्सका भएको नाताले मेरो घरमा वोलाएर एक भद्र सहमति गरेर यसलाई संघमा लगेर पुर्व अध्यक्षहरु विच अर्को बर्ष थापालाई नेतृत्व दिने गरी सहमति भएको थियो । ”