अमेरिकी पत्रकारको घाटी रेटेर हत्या ( भिडियो सहित )


वासिङ्टन (एएफपी), भाद्र ५-

इराकको सुन्नी लडाकु संगठन इस्लामिक स्टेट आइएसले अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गरिएको भिडियो मंगलबार सार्वजनिक गरेको छ। उसले अमेरिकाले इराकमा हवाई आक्रमण नरोकेमा अर्का एक पत्रकारको पनि हत्या गर्ने चेतावनी दिएको छ। बीबीसीका अनुसार अमेरिका, बेलायत र फ्रान्सले उक्त घृणित अपराधको निन्दा गरेको छ।

आइएसले आफ्नो अनलाइनमा राखेको भिडियोमा टाउको छोपिएका एक लडाकुले फोलीजस्ता देखिने पुरुषको घाँटी काटेर हत्या गरेको देखाइएको छ। फोली सन् २०१२ नोभेम्बरमा पनि सिरिया द्वन्द्वको रिपोर्टिङ गर्दा अलेप्पोमा ६ साता बन्धक बनाइएका थिए। प्रत्यक्षदर्शीहरूले फोलीलाई सिरियाको इडलिब प्रान्तबाट २०१२ नोभेम्बर २२ मा अपहरण गरिएको बताएका छन्।
फोलीजस्तै बन्धक बनाइएका अर्का पत्रकार स्टिभन सटलफ अमेरिकी नै हुन्। उनको हत्या नगरिए पनि आइएसले अमेरिकी आक्रमण नरोकिए हत्याको चेतावनी दिएको छ।

बन्धक बनाइएका अर्का अमेरिकी पत्रकार सटलफलाई जीवित देखाइएको छ। फोलीका आमा डायनाले फेसबुकमा समर्थकलाई छोराप्रति गौरव गर्ने तथा उसले सिरियाली जनताको पीडा विश्वसामु उदांगो पार्ने प्रयासमा जीवन गुमाएको भावना पोखेकी छन्।

उनले बन्धक बनाइएका बाँकीलाई रिहा गरिदिन अपहरणकर्तासँग अनुरोध गरेकी छन्। ह्वाइट हाउसले अमेरिकी गुप्तचरहरूले उक्त भिडियोको अध्ययन गरिरहेको भनेको छ। राष्ट्रपति बाराक ओबामालाई यस विषयमा जानकारी दिइएको उसले जनाएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता केटलिन हेडनले एक निरपराध अमेरिकी पत्रकारको क्रूर हत्याबाट आफूहरू त्रस्त भएको र मृतकको परिवार तथा मित्रहरूप्रति गहिरो समवेदना प्रकट गर्ने बताए। फोली अनुभवी पत्रकार थिए। उनले सिरिया जानुपूर्व लिबियामा युद्धको समाचार संकलन गरेका थिए। सिरियामा राष्ट्रपति बसार अल-असादको शासन विरुद्ध विद्रोह भएपछि उनी त्यहाँ पुगेका थिए। उनले ग्लोबलपोस्ट, एजेन्स फ्रान्स प्रेस तथा अन्य आमसञ्चारलाई समाचार उपलब्ध गराउँथे।

फोलीको हत्या एक खुला मरुभूमिमा गरिएको छ। उनलाई गुआन्टानामो बेमा अमेरिकी नौसैनिक केन्द्रमा बन्दीले लगाउने जस्तो लुगा लगाएको देखाइएको छ।

हत्याराले इस्लामिक स्टेटमाथिको कुनै पनि आक्रमण मुसलमान माथिको आक्रमण भएको ठानिएको र सबै स्थानका मुसलमानले खलिफात तथा त्यसका नेतृत्वलाई स्वीकार गरेको बताए।