बाढी र पहिरोको कारण मर्नेहरुको संख्या दिनदिनै बढ्दै


काठमाडौँ, भदौ २ –

छिल्लो साता आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको संख्या एकसय नाघेको गृहमन्त्रालयले जनाएको छ। त्यसतै करीब १ सय ३० जना मानिस अझै हराइरहेका छन् भने झन्डै ७ हजार परिवार विस्थापित भएको बताइएको छ।

सबैभन्दा बढी प्रभावित सुर्खेतमा अवरुद्ध रहेको खानेपानी, विद्युत र यातायात सेवा अझै संचालनमा आउन सकेका छैनन्। प्रभावित सुर्खेत, बर्दिया, दाङ र बाँकेमा हाल उद्धार र राहतको काम भैरहेको सरकारी अधिकारीहरुको भनाइ छ।

Bhotekoshi-mirtak
बुधबार रातीको बाढीले जिल्ला सदरमुकाम जोडने पुलहरु बगाए पछि सम्पर्क विच्छेदको अवस्थामा सुर्खेतका ४ वटा गाँउ विकास समितिहरु घाटगाँउ, तरंगा, तालापानी र हरिहरपुर थिए। “खाद्यान्न त हामीले हेलिकप्टरबाटै झारिसक्यौं। अब अन्य बाँडने काम विभिन्न टोलीले गर्छ।” दिलबहादुर घिमिरे, प्रमुख जिल्ला अधिकारी,
सोमबार हेलिक्टरबाट सेना, प्रहरी, स्वास्थ्यकर्मी र रेडक्रसको टोली ती गाउँहरुमा पुगेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले बताए।

death_20140804121821
उनले भने, “खाद्यान्न त हामीले हेलिकप्टरबाटै झारिसक्यौं। अब अन्य बाँडने काम विभिन्न टोलीले गर्छ।” हराइरहेका भनिएका ९८ जनाको खोजी कार्य र राहत वितरणको कामलाई सँग सँगै अगाडि बढाईएको उनको भनाइ थियो।
विस्थापित बनेका करीब ६ हजार ५ सय जनालाई ४५ वटा अस्थाई शिविर बनाएर राख्नेकाम भइरहेको घिमिरेले जानकारी दिए। बाढी र पहिरो आएको दिन देखि नै  अवरुद्ध रहेको खानेपानी, विद्युत र यातायात सेवा अहिलेसम्म संचालनमा आउन सकेको छैन। नेपालगञ्ज जोडने सडक संचालनमा आए पछि मात्र ढलेका पोलहरुको मर्मत गरिएपछि विद्युत आपूर्ति हुने बताइएको छ। भयावह बनेको खानेपानीको आपूर्ति सहज बनाउन अझै केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।
उनले भने, “खाने पानीको अभाव खटकीएको छ। प्रयास जारी छ १/२ दिनमा आंशिक रुपमा सुरु हुने छ र पुर्णरुपमा खानेपानी शुरु हुन अझै केहि दिन लाग्ने छ।”

बाढीको ठूलो मारमा परेको अर्को जिल्ला बर्दियामा पनि अस्थाई शिविरहरु बनाएर विस्थापितहरुलाई राखिएको छ। बाढी प्रभावित क्षेत्रहरुमा सरकारले राहतको काम अगाडि बढाए पनि त्यो प्रभावकारी नभएको नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मिनराज शर्माले बताए। उनले भने, “सरकारी पक्षबाट प्रभावकारी ढंगले राहत वितरण भएको देखिंदैन। अलि अलि चाउचाउ र चिउरा बाँडने काम मात्र भएको छ।”

sunkosi-12
बर्दियाबाट नेपालगञ्ज जोडने सडक संचालनमा आएपनि जिल्ला भित्रको आवागमनका लागि चाहिने सडकहरु अवरुद्ध हुँदा राहत र बेपत्ताको खोजीको कामलाई गतिदिन नसकिएको सरकारी अधिकारीहरुको भनाइ छ। बाढीबाट प्रभाबित बाँके र दाङका केही भागहरुमा सरकारी राहत नपुगेको पीडितहरुले गुनासो गरेका छन्।
बाढी र पहिरो प्रभावित जिल्लाहरुमा सरकारी राहत सामग्रीका अलावा स्थानीय संघ संस्थाहरु र सामाजिक संगठनहरुले राहत सामग्रीहरु लगेर बाँडिरहेका छन्।
तर ती सबै आफुखुसी र सवारी साधन पुग्ने क्षेत्रमा मात्र केन्द्रीत रहेको गुनासो विकट क्षेत्रका पीडितहरुले गरेका छन्। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यको समस्या पनि देखिन थालेको छ।
प्रभावित क्षेत्रहरुका केही ठाँउहरुमा भाइरल ज्वरोको प्रकोप समेत देखिए थालेको बिबिसी नेपाली सेवाले जनाएको छ ।