महासचिवका अब्बल उम्मेदवार:- प्राध्यापक डा. शर्मा


एनआरएनए केन्द्रिय महासचिव पदका उम्मेदवार डा. हेमराज शर्मा

बार्सिलोना। बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् डा. हेमराज शर्मा। गैर आबासीय नेपाली संघ (एनआरएनए) को अभियानबारे नाम जोडीदा डा.शर्मा एउटा नछुट्ने नाम हो। डेढ दशक लामो संघको अभियानमा कुनै न कुनै रुपमा उनको भूमिका महत्वपूर्ण रहदै आएको छ। 

ब्यापारी र धनाढ्य एनआरएनहरुले मात्र केन्द्रिय तहमा सधैँ राज गरिरहेको आरोप लागिरहेको बेला उनले काठमाडौँमा हुन गइरहेको संघको अन्तर्राष्ट्रिय महाधिबेशनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सधैँ लगानीको हावादारी गफभन्दा विज्ञता हासिल गरेका ब्यक्ति पनि केन्द्रिय तहमा पुग्नुपर्छ भन्ने जोडदार आबाज डायस्फोरामा नसुनिएको भने होईन। यही पेरिफेरीमा डा.शर्मा जस्ता अनुभबी बिज्ञहरु संघको केन्द्रिय तहमा पुग्ने आँट गर्नु आँफैमा महत्वपूर्ण ठानिएको छ। त्यतिमात्र हैन विज्ञता हासिल गरेका आँफूजस्तै अन्यलाई पनि संघको अभियानमा प्रत्यक्षरुपमा लाग्न प्रेरणा मिल्ने देखिन्छ। 

गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन सम्पन्न गर्न उनले पनि महत्वपूर्ण भूमिका निर्बाह गरे।तर सभा सम्मेलन सम्पन्न गर्नु मात्र महत्वपूर्ण होईन। त्यसबाट के उपलब्धि भयो भन्ने पनि महत्वपूर्ण पाटो हो। सम्बृद्व नेपाल निर्माणका लागि विदेशमा सिकेको ज्ञान,सीप र अनुभव हस्तान्तरणको चर्चा हालसम्म सम्मेलनहरुमा मात्रै सिमित छ। केन्द्रिय तहमा काम गरेर यसलाई व्यावहारिकतामा ढाल्नु डा.शर्माजस्तै विज्ञहरुको लागि प्रमुख  चुनौतिको बिषय बन्नेछ। 

डा. शर्मा  बेलायतको लोकप्रिय विश्वविद्यालय लिभरपुलमा सिनियर रिसर्च लेक्चरको अनुभव छ।  सन् १९९७ मा उनले जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरे। सन् १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरे । के साँच्चिकै डा. शर्मा जस्तै बिज्ञहरु डायस्फोरामा छैनन् त ? छन् भने एनआरएनए अभियानमा उनीहरुको भूमिका कहाँ छ ? सधैँ लगानीकै एकोहोरो भाषणमा केन्द्रित जस्तै देखिने यो बिशाल संस्थाभित्र दिग्गजहरुको आकर्षण किन उल्लेख देखिदैन ? उनिहरु प्रत्यक्ष अभियानमा जोडिन किन उत्साहित छैनन् ? 

एनआरएनको १२ औं युरोपेली बैठकमा व्यापार, लगानी, पर्यटन र बैदेशिक रोजगारसम्बन्धी नेपालको आर्थिक कुटनीतिबारे युरोपका नौ देशका दूताबासहरुले आ-आफ्ना अनुभवहरु सुनाए। यसैक्रममा बेलायतको दूतावासको प्रतिनिधित्व गरेका द्वितीय सचिव लव सुवेदीले एउटा तथ्याङ्क प्रस्तुत गरे। उनका अनुसार बेलायतमा नेपालका १ हजार २ सय डाक्टर, पाँच हजार नर्स र एकहजार भन्दा बढि इञ्जिनियरहरु रहेछन्। 

यसैबीचमा बेलायतमा नै कर्मथलो बनाएका डा. शर्मालाई एनआरएनए केन्द्रिय महासचिवमा उम्मेदवारी दिदै गर्दा प्रश्न उब्जन सक्छ। “माथि उल्लेखित डाक्टर,इञ्जिनियरहरु र नर्सको संख्या दिग्गजहरुको एउटा ठुलो हिस्सा हो। तपाई बेलायतमा नै हुनुहुन्छ,यो अभियानमा आकर्षित गर्न कस्तो भूमिका रहला ?

त्यसो त बेलायतमा पाँचसय भन्दा बढी नेपालीले रेष्टुरेन्ट ब्यबसायीहरु छन्। अन्य क्षेत्रका गरी सयौ ब्यबसायीहरु पनि छन्। प्रश्न यही नेर पनि छ, संघको अभियानमा किन ब्यापारीहरु मात्र आकर्षित छन्। विज्ञता हासिल गरेको त्यति ठुलो संख्या रहे पनि खासै चासो किन देखिदैन। 

 डा. शर्मालाई अब्बल उम्मेदवार ठानिए पनि यो उनका लागि यो परीक्षाको घडी मात्र हो। महासचिवको कार्यभार सम्हालेछन् भने सन् २०२१ को अक्टोबरमा उनलाई एउटै प्रश्न गरिने छ। “ तपाईजस्तै विज्ञता भएका गैर आबासीयहरु संघको अभियानमा अहिले कति छन् ? अब साँच्चिकै अब्बल बन्लान् वा नबन्लान् त्यो त समयले नै बताउने छ।