कोहिनुरको कीर्तिमानी रेकर्ड फिल्म हेरेर दर्शक रोए ,दर्शक ओइरिएको सुन्दा स्वेता पनि रोइन्


काठमाडौं,भदौ१–

‘कोहिनुर’ फिल्मकी नायिका तथा श्रीकृष्णकी पत्नी श्वेता खड्का चलचित्र हेर्न दर्शक ओइरिएको खबरले भावुक बनेकी छन् । म्हेपीस्थित श्रीकृष्णको घरमा शोकमा बसिरहेकी श्वेतालाई शुक्रबार निर्देशक आकाश अधिकारीले भेटेका थिए ।

निर्देशक अधिकारीले कोहिनुर हेर्न दर्शक ओइरिएको विषयमा श्वेतालाई जानकारी दिएका थिए । ‘मैले दर्शक ओइरिएको जानकारी दिएपछि उहाँ झन भावुक भएर रुनुभयो । केही बोल्न सक्नुभएन’अधिकारीले भने । कोहिनुरमा श्वेताले गरेको अभिनयको निकै नै तारिफ भइरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

kohinoor-poster

फिल्म ‘कोहिनूर’ ले एकै दिन करोड रुपैयाँ कमाइ गरेर नेपाली रजतपटमा कीर्तिमान बनाएको छ। श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको मुख्य अभिनय रहेको श्रीकृष्णद्वारा नै निर्मित ‘कोहिनूर’ ले शनिबार मात्रै एक करोड रुपैयाँको व्यापार गरेको हो। अघिल्लो शुक्रबार रिलिज भएको आकाश अधिकारी निर्देशित यो फिल्मको कमाइ तीन करोड पुगिसकेको छ।

यसअघि फिल्म ‘नाई नभन्नु ल २’ ले नयाँ वर्षको दिन राखेको ३२ लाख रुपैयाँको ‘सिंगल डे कलेक्सन’ को रेकर्डलाई ‘कोहिनूर’ ले अत्यधिक अन्तरमा तोडेको हो। ‘कोहिनूरको शनिबारको व्यापार अप्रत्यासित नै भो,’ फिल्मका काठमाडौं उपत्यका वितरक सुनिल मानन्धरले भने, ‘उपत्यकामा मात्र एकै दिन ५७ लाखको टिकट बिक्री गरेर अर्को रेकर्ड पनि राखेको छ।’ नायक तथा निर्माता श्रीकृष्णको असामयिक निधनले पनि व्यापार प्रभावित गरेको हो। साउन २३ मा रिलिज ‘कोहिनूर’ ले भोलिपल्ट अघिल्लो शनिबार २४ लाखको मात्रै व्यापार गरेको थियो। रिलिजको दिन उपत्यकामा साढे तीन लाख रुपैयाँ उठाएको थियो।

shree-krishan-and-sweta-piyano-bajaudai

अत्यधिक भीडका कारण बिर्तामोड र दमकमा केही दर्शक घाइतेसमेत भएका थिए। शनिबार उपत्यकाबाहिर ४६ स्टेसनमा फिल्म चलेको थियो भने दर्शको भीड थेग्न नसकेपछि राजधानीका गोपीकृष्णका पाँच हल, गुणका चार, अष्टनारायणका तीन, गंगा, कलंकी, बाराही र ललित हलका दुई/दुई स्त्रिmनमा ‘कोहिनूर’ चलाइएको थियो। रिलिजको दिन एक शो मात्रै दिएको क्यूएफक्सले बढाएर शनिबारदेखि पाँच शो दिएको छ भने एफक्युबले तीन शो। ‘देशभर कुनै हल हाउसफुल नभएको रेकर्ड छैन,’ उदयले भने, ‘हिन्दी फिल्म ‘सिंघम रिटर्नस्’ लाई हटाएर ‘कोहिनूर’ लगाइएको छ।’

फिल्म रिलिजको नवौं दिन पार गर्दासम्म ‘कोहिनूर’ ले ३ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको वितरकहरूले बताए। उपत्यकाबाहिर ३४ हलमा यो फिल्मले पहिलो दिन ७ लाख रुपैयाँ कलेक्सन गरेकोमा शनिबार ४० लाख रुपैयाँ उठाएको छ।

फिल्ममा समेत नायक श्रीकृष्णको निधन हुने र श्वेता विधवा बन्ने दृश्यले दर्शकलाई थप भावनात्मक बनाएको छ।