आर्थिक कुटनीतिको क्षेत्रमा के गर्दैछन् युरोपका नेपाली राजदूतहरु ?


वसन्त रानाभाट,बार्सिलोना। 

 गैर–आवासीय नेपाली संघ (एनआरएन) को १२ औं युरोपेली बैठकमा यसपटक नयाँ बिषयले प्रवेश पायो । युरोपका नौ देशका नेपाली राजदूतबीचको बहसमा आएको बिषय थियो– नेपालको आर्थिक कूटनीति । बहसमा राजदूतहरुले व्यापार, लगानी, पर्यटन र बैदेशिक रोजगारसम्बन्धी आ–आफ्ना अनुभव सुनाउँदै नेपालको आर्थिक कुटनीतिका कुरा राखे ।

चार वटा बिषयहरुलाई मुख्यरुपमा जोड दिएर राजदूतहरुले आ-आफ्ना दूताबासका अनुभवहरु सुनाए। ब्यापार,लगानी,पर्यटन र बैदेशिक रोजगारका बिषयहरुमा राजदूताबासहरुले बहस गरे। दूताबास र राजदूतका सिमानाहरु के छन् ? त्यसबारेमा राजदूतहरुलाई धाराणा राख्नका लागि ४ मिनेटको समय तोकिएको थियो। 

ईयु ‘फोकस्ड’ कुटनीति हुनुपर्ने :-

युरोपियन युनियन (इयु) का लागि नेपाली राजदूत लोकबहादुर थापाले जर्मन चान्सलर एन्जेला मर्केल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भेटवार्ताको प्रसंग सुनाए । जर्मनी–अमेरिका व्यापार सम्झौतामा हस्ताक्षर गरौ न भन्ने राष्ट्रपति ट्रम्पको प्रस्तावमा चान्सलरले भनिन्, ‘लौ तपाईलाई थाहा रहेनछ, यसका लागि त ईयूमार्फत पो आउनुपर्छ ।’

युरोपियन युनियन (इयु) का लागि राजदूत लोकबहादुर थापा

राजदूत थापाले नेपालले पनि युरोपमा प्रभावकारी आर्थिक कुटनीति गर्ने हो भने ईयु ‘फोकस्ड’ हुनपर्छ भनेर बुझाउन यो प्रसंग जोडेका थिए । त्यसक्रममा सबभन्दा पहिले सम्भावना र अवसरको जानकारी लिनुपर्ने बताउँदै थापाले भने, ‘विकासशील देशहरुको लागि युरोपियन युनियन एउटा ठूलो बजार हो । यसमा ‘कनेक्टिभिटी’को अवस्था पनि हेरिनुपर्छ ।’

रसियाबाट बैदेशिक रोजगार र पर्यटनको सम्भावना के ?

राजदूत ऋषिराम घिमिरेले बैदेशिक रोजगारका लागि बिशाल सम्भावना भएको मुलक रसिया भएपनि नेपालको गन्तब्य बन्न नसकेको बताए। मुख्यत:भाषा तालिम प्राप्त कामदारको अभाव र अति नै चिसो मुलुक भएकाले गन्तब्य बन्न नसकेको रसियाका लागि नेपाली राजदूत घिमिरेको भनाई थियो। यद्दपी नेपालसरकारले बैदेशिक रोजगारका लागि प्रयास थालिरहेको उनले जानकारी दिए। 

रसियाका लागि नेपाली राजदूत ऋषिराम घिमिरे

 ब्यापारको दृष्टिकोणले पनि नेपालको ब्यापार रसियासँग घाटामा रहेको राजदूत घिमिरेले बताए। “साना -ठुला गरी करिव ४२ जना रसियन लगानीकर्ताको नेपालमा लगानी भएको भेटिएको छ।” उनले थपे। 

यस्तै  गत बर्ष १० हजार ४ सय रसियन पर्यटकहरु नेपाल पुगेको तथ्याङ्क बताउदै रसियन पर्यटकहरु एडभेन्चर टुरिजम र सामुन्द्रिक किनारामा जान रुचाउने हुँदा नेपाल प्राथमिकतामा पर्न नसकेको राजदूत घिमिरेको भनाई थियो। 

उनले आँफू रहेको मुलुकका राजनीतिक दल,ब्यापारी लगायत उच्च अधिकारीहरुसँग घुलमिलको बाताबरण भएका आफ्नो मुलुककालागि फाईदा लिन सकिनेभन्दै गैरआबासीयहरुलाई सुझाव दिए। 

१० वटा युरोपियन मुलकहरु हेर्ने बर्लिन दूताबासले के गरिरहेको छ ?

जर्मनीसहित १० वटा युरोपियन मुलकहरुका लागि बर्लिन दूताबास हेर्दै आएको छ।जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले नेपाललाई वर्ल्डमा ट्रेड,टुरिजम र कल्चर हर्व बनाउने मुख्य उदेश्य राख्दै दूताबासले काम गरिरहेको बताए। लगानी र ब्यापारबारे बोल्दै राजदूत खनालले भने,”जर्मनीसँगको हकमा एक्पोर्ट ट्रेड वृद्धी गर्नुपर्ने हाम्रो उदेश्य हो। अर्कोतर्फ साह्रै न्यूनमात्र नेपालमा लगानी रहेकोले यसलाई ह्युज बनाउनु पर्ने चुनौती रहेको छ।”

जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल

“गतबर्ष मात्र ४० हजार जर्मनी पर्यटकहरु नेपाल पुगेका छन्। भ्रमण बर्ष २०२० मा ६० हजार पुर्याउने हाम्रो लक्ष्य रहेको छ।” राजदूत खनालले भने। यसका लागि दूताबासले नेपाली समुदायसँग मिलेर नेपालको पर्यटन प्रवद्वनका कार्यक्रमहरु गर्दै आएको उनले बताए। जर्मनीमा १ हजार ७ सय जना  बिद्यार्थीहरु अध्ययनरत रहेको उनले जानकारी दिए। 

नेपाललाई ब्राण्ड गर्ने काम गरिरहेका छौ :-

डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लक्सालले नेपाललाई कसरी ब्राण्ड गर्नेकुरा महत्वपूर्ण भएको बताए।  पहिले त नेपाललाई नेचुरल्ली ब्राण्ड गर्नुपर्छ। “नेपाल ईज अ कन्ट्री अफ माउन्ट एभरेष्ट” राजदूत लम्सालले भने। नेपाललाई गौतम बुद्वको देश भनेर पनि ब्राण्ड गर्न सकिनेमा उनको जोड थियो। 

“सँसारमा १ अर्वभन्दा हिन्दुहरु छन्,१ अर्वभन्दा बढी बुद्धिष्टहरु पनि छन्। उनिहरुलाई लक्षित गर्ने हो भने मलाई लाग्छ यो २० लाख पर्यटकको लक्ष्य त्यति ठुलो संख्या होईन।” उनले थपे। रणनितिक रुपमा नै नेपाललाई ब्राण्ड गर्नुपर्नेमा राजदूत लम्सालले पटक पटक जोड दिए। 

तपाईहरुलाई थाहा नै होला अन्तराष्ट्रिय पावर एसियामा सिफ्ट हुँदैछ। उनले थपे,”एसियाको पावर भनेको चिन र भारत हुन्। नेपालको लोकेशन बिचमा छ। अर्थात् ग्लोबल पावरको बिचमा हामी जादैछौ।”त्यसैले  नेपाल इज अ सेन्टर अफ वल्ड पावर भन्दै ब्राण्ड गर्ने काम गरिरहेका छौ राजदूत लम्सालले भने। 

“स्क्याडिनेभियन क्षेत्र लगायतका मैले हेर्ने ८ वटा युरोपेली मुलुकहरु छन्। धेरै टाढा भएकाले ट्रेडको भोलुम त्यति ठुलो छैन। तरपनि कोशिस गरिरहेका छौ। खासगरी ह्यन्डी क्याप्ट्स,चिया कफी लगायतका केहि क्षेत्रहरुमा अलिकति सुधार हुदैछ।” राजदूतले जानकारी दिए। अर्गानिक कृषिकालागि नेपाल उपयुक्त ठाउँ भएको भन्दै उनले त्यसमा लगानीको सम्भावना रहेको बताए। यस्तै हाईड्रोमा पनि  डेनमार्कका ब्यबसायीहरु ईच्छुक रहेको जानकारी दिदै डेनिस औद्योगिक संघसँग दूताबासले छलफलको तयारी थालेको बताए। 

डेनमार्क कुनै बेला नेपालका लागि प्रमुख दाता राष्ट्र थियो। तर सन् २०१८ देखि नेपालसँगको बिकास सहकार्यलाई टुङ्गाएको छ। तरपनि स्क्याडिनेभियन क्षेत्रको सम्पन्न अर्थतन्त्रकाबीचमा रहेको नेपाली दूताबासलाई आँफैमा जिम्मेवारी र चुनौती पनि रहेको हो। 

प्रधानमन्त्रीको फ्रान्स भ्रमणपछि लगानीको बाताबरण बनेको छ :-

फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स भ्रमणपछि लगानीका लागि राम्रो बाताबरण बनेको बताए। “प्रधानमन्त्रीले त्यहाँका उद्योगी, ब्यबसायीहरुसँग छलफल तथा भेटबार्ता गर्नुभयो। त्यसले लगानीको क्षेत्रमा नेपालका लागि सकारात्मक बाताबरण बनेको छ।” राजदूत अधिकारीले भने। डायस्फोरामा रहेका नेपाली ब्यबसायीहरुले पनि प्रधानमन्त्रीसँग छलफल गरेको उनले स्मरण गरे। 

फ्रान्सले बाताबरणको क्षेत्रमा ठुलो योगदान गरेको बताउदै यसक्षेत्रमा नेपालले पनि सहकार्य गर्न सक्ने अधिकारीको जोड थियो। “हेडक्वाटरले हामीलाई निर्देशन दियो भने फ्रान्ससँग यसक्षेत्रको सहकार्यबारे अगाडि बढाउन सकिने अबस्था छ।” उनले थपे। 

बर्षमा ८९ मिलियन बिदेशी पर्यटकहरु भित्राउन सक्ने फ्रान्सबाट नेपालले पर्यटनको क्षेत्रमा थुप्रै कुराहरु सिक्न सक्ने राजदूत अधिकारीको भनाई थियो।  सन् २०१८ मा नेपालपुग्ने फ्रान्सेली पर्यटकहरुको संख्या ३२ हजार रहेको बताउदै नेपालप्रति उनीहरुको राम्रो छाप रहेको बताए। दूताबासले आर्थिक कुटनीतिको एजेन्डालाई जोड दिदै आएको राजदूत अधिकारीले बताए। नेपाली दूताबास पेरिसले फ्रान्स अलवा पोर्चुगल,एन्डोरा र मोनाकोलाई हेर्दै आएको छ। 

डावोस बैठकपछि प्रधानमन्त्रीका निर्देशनहरुलाई फ्लो गरिरहेका छौ :-

सयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग जेनेभा तथा नेपाली राजदुतावास स्वीट्जरल्याण्डका उपनियोगप्रमुख तिर्थराज वाग्लेले विश्व कूटनीति तथा वित्तीय कारोबारको केन्द्र जेनेभाको चर्चा गरे। “कुनै पनि देशको आर्थिक कुटनीतिलाई प्रवद्वन गर्नका लागि त्यो देशले कस्तो नीति लिएको छ ? भन्ने कुरालाई महत्वपूर्ण रुपमा लिनुपर्छ।” स्वीट्जरल्याण्डमा अन्तराष्ट्रिय संघसंस्थाहरुको महत्वपूर्ण उपस्थिति रहेको उदाहरण वाग्लेले प्रस्तुत गरे।संयुक्त राष्ट्रसंघ लगायत सबै निकायहरुसँग समन्वय गर्न नियोगले भूमिका खेल्ने तथा राजधानी वर्नसँगको सम्पर्क नेपाली राजदूताबासको रुपमा हुने उनले प्रष्ट पारे। 

सयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग जेनेभा तथा नेपाली राजदुतावास स्वीट्जरल्याण्डका उपनियोगप्रमुख तिर्थराज वाग्ले

अन्तराष्ट्रिय महत्वपूर्ण संस्था वल्ड ईकोनोमिक फोरम स्वीट्जरल्याण्डमा रहेको बताउदै गत जनवरीमा प्रधानमन्त्रीले डावोस बैठकमा भाग लिएको स्मरण गरे। वाग्लेले भने,” हाम्रो आबश्यकता,भिजन र प्राथमिकताहरु के हुन् ? त्यसलाई अन्तराष्ट्रिय समुदायले के गर्नुपर्छ भन्ने कुरालाई केन्द्रित गरेर सम्मानीय प्रधानमन्त्रीबाट सम्बोधन भएको थियो।” त्यसबाट प्राप्त निर्देशनहरुलाई राष्ट्रसंघमा प्रस्तुतिहरु राख्दै आएको उनले जानकारी दिए। 

स्वीट्जरल्याण्डले साना तथा मझौला उद्योगलाई प्रसय दिएर हरेक क्षेत्रमा पर्यटन प्रवद्वन गर्ने गरेको उनको भनाई थियो। “यहाँ एसियन पर्यटकहरुलाई प्रमोट गर्न एसियाका चर्चित फिल्म एक्टरहरुलाई बोलाउने गरेको पाइयो। स्वीट्जरल्याण्डजस्तो देशले बिकासन्मुख देशहरुबाट कलाकारहरु ल्याएर पर्यटन प्रवद्वन गर्दो रहेछ भने हामीले पनि सिक्न जरुरी छ।” उपनियोग प्रमुख वाग्लेले भने। 

सन् १९८२ मा स्वीट्जरल्याण्डमा नेपालको कूटनीतिक नियोग स्थापना भएको थियो । सन् १९९९ देखि राजदूतस्तरमा दौत्य सम्बन्ध रह्यो। नेपालमा पनि सन् २००९ देखि स्वीस दूतावास खुलेको छ। त्योभन्दा १० वर्ष अगाडि नै नेपालको दूतावास जेनेभामा स्थापना गरिएको थियो ।यो स्वीट्जरल्याण्डका लागि नेपालको राजदूतावास र संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग पनि हो ।

नयाँ खोलिएका दूताबास:- सितारको ताल मिलाउदैमा गयो..  अर्को जुनि पाए चाहिँ संगीत बजाउँथे … 

भियनाकालागि पहिलो आबासीय राजदूत हुन् प्रकाश कुमार सुबेदी। उनले आर्थिक कुटनीतिबारे रोममा शनिबार दिउँसो भएको राजदूतहरुबीचको बहसलाई मध्यस्थ गरिरहेका थिए। संघियताको कारणले नेपालको उद्योग क्षेत्रमा रणनीति परिबर्तन हुनुपर्नेमा राजदूत सुबेदीको जोड थियो। 

“उद्योग भनेको संघको पनि कार्यक्षेत्रमा छ प्रदेशको पनि कार्यक्षेत्रमा छ। अहिले नेपाल सरकारको धारणा हरेक स्थानीय निकायलाई एउटा औद्योगिक गाउँ बनाउने रहेको छ। यी सबैमा कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा हामीले पनि घनीभूत छलफल गर्नुपर्छ।” राजदूत सुबेदीले भने। 

भियनाकालागि पहिलो आबासीय राजदूत प्रकाश कुमार सुबेदी

स्पेनका लागि कार्यबाहक राजदूत हरिहरकान्त पौडेललाई समय उपलब्ध गराउदै गर्दा उनले नयाँ दूताबासको मिसनको पिडा आँफूले पनि बुझेको बताए।

 युरोपमा दुईवटा नयाँ मिसन खोलिएको हो। भियना र त्यसपछि म्याड्रिड। रबिन्द्रनाथ टैगोरले भन्नुहुन्थ्यो;-” यो जुनी त सितारको ताल मिलाउदैमा गयो अर्को जुनि पाए चाहिँ संगीत बजाउँथे भनेर। हो हामी यो नयाँ दूताबासहरुमा मेच,टेबल किन्दैमा,आधारभूत कुराहरु जोड्दैमा समयजादो रहेछ। पुराना राजदूताबासहरुले उपलब्धिका फेहरिस्त सुनाउछन्। तर जे  जस्तो भएपनि स्पेनको वृतान्त सुनाउन उनले पौडेललाई अनुरोध गरे। 

चर्चित फुटबल खेलाडीहरुलाई नेपाल भित्राऊ ,आईफा अवार्ड बराबर नै हुन्छ …

नयाँ दूताबास हो तर पनि हामीले सन् २०१८ मा २६ प्रतिशत नेपाल जाने पर्यटकहरु बढेका छन् एउटा दूताबास स्थापानाको महत्व त्यही नै हो। स्पेनका लागि कार्यबाहक राजदूत हरिहरकान्त पौडेलले आफ्नो भनाइ सुरु गरे। “स्पेनिशहरु अत्याधिक घुम्न मन पराउँछन्। गत बर्ष १ करोड ६० लाख स्पेनिशहरुले विदेश भ्रमण गरेका थिए। जुन त्यहाँको जनसंख्याको ३३ प्रतिशत हिस्सा हो।” उनले भने। स्पेनले गतबर्ष आफ्नो जनसंख्याको दोब्बर अर्थात् ८ करोड ३७ लाख बिदेशी पर्यटकहरु भित्राएको पौडेलले  बताए। पर्यटनको ठुलो सम्भावना बोकेको मुलुक स्पेनको भएको भन्दै यहाँको पर्यटन बिकासबाट नेपालले सिक्नुपर्नेमा उनको जोड थियो। 

स्पेनकालागि कार्यबाहक राजदूत हरिहरकान्त पौडेल

फुटबलले परिचित मुलक स्पेन वा युरोपका कुनैपनि मुलुकबाट ख्यातीप्राप्त फुटबल खेलाडीको नेपाल भ्रमणको संयोजन गर्न सकेमा राम्रो सन्देश मिल्ने उनको भनाइ थियो। पौडेलले भने, “यो त आईफा अवार्ड बराबर नै हुन्छ। नेपाल सरकार वा पर्यटन मन्त्रालयले भनोस् त्यसका लागि खेलाडीसँग बार्ता र छलफल गर्न तयार छौ।”

 स्पेनी लिगाको चर्चित फुटबल क्लव एथ्लेटिको म्याड्रिड र चन्द्रागिरी नगरपालिका -१४ मा रहेको वेष्ट काठमाडौ फुटबल क्लवबीच दुई पक्षीय सम्झौता भएकोबारे पनि उनले सो अबसरमा जानकारी दिए। 

लगानी बोर्डलाई पनि पर्यटन बोर्ड जस्तै बिदेशमा परिचालन गर्नुपर्नेमा पौडेलको जोड थियो। लगानीकर्ताहरुलाई भेला पार्ने काम दूतावासको भएको भन्दै लगानी बोर्डबाट प्रतिनिधिहरु आएर प्रस्तुतिकरण दिनुपर्ने उनको धारणा थियो। 

बेलायतमा १२ सय चिकित्सक, ५ हजार नर्स र १ हजार भन्दा बढि ईञ्जिनियर

सबैभन्दा पछि खोलिएको कुटनीतिक नियोग म्याड्रिडवाट २०३ बर्ष पुरानो सम्बन्ध रहेको लण्डन दूताबासले जानकारी दिने पालो आयो। तर बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी भने कार्यक्रममा उपस्थित थिएनन्। लण्डन दूताबासबाट द्वितीय सचिव लभा सुबेदी प्रतिनिधिको रुपमा सहभागी थिए। उनले सन् २०१५ देखि बेलायत नेपालको ब्यापार नाफा रहेको बताए। कफी र चियाबाट पनि ब्यापार नाफा बढेको जनाए। सुबेदीको प्रस्तुति बैदेशिक रोजगारसँग बढी केन्द्रित थियो। उनका अनुसार बेलायतका १२ सय चिकित्सक, ५ हजार नर्स र १ हजार भन्दा बढि ईञ्जिनियरहरुले रोजगार पाईरहेका छन्। 

यस्तै ५ सय भन्दा बढि रेष्टुरेन्ट ब्यबसायीहरु छन् भने सोहि क्षेत्रमा २० हजारभन्दा बढीले रोजगार पाईरहेका छन्। सुरक्षा क्षेत्रमा ४० हजार भन्दा बढी नेपालीहरु कार्यरत रहेका छन्। हाल कार्यरत मध्ये २५ हजार गोरखा सैनिकका परिबार बेलायतमा बस्दै आएका छन्। भूपू गोर्खा र उनका परिबारको संख्या १ लाख रहेको सुबेदीले जानकारी दिए।