आज कृष्णजन्माष्टमी भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै


काठमाडौँ,  भदौ १-

 प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
कंसले कारागारमा बन्दी बनाएको अवस्थामा देवकीबाट कृष्णको जन्म भएको थियो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि विष्णुको मोहित पार्ने शक्तिका कारण कृष्ण जन्मिएका बेलामा सबै सैनिक निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई “नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पु¥याऊ” भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भन्ने गरिएको छ ।
वासुदेव नन्दका घरमा गई कृष्णलाई त्यहीँ छाडी त्यही दिन जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरिदिनुभएको थियो ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गर्नुभएको थियो । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको थियो ।
युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गर्नुभएको थियो । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेश नै श्रीमद्भगवत गीता हो । यसैकारण गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै विचित्रलीला देखाउँदै आउनुभएका श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलोत्सवका रुपमा समेत मनाउने गरिन्छ । “यो नै पूर्वीय जगत्को प्रेम दिवस हो र प्रणय दिवसका नाममा नेपाल–भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका देशमा गरिने तामझाम पश्चिमी संस्कृतिको अन्धानुकरण हो” साहित्यकार एवं आध्यात्मिक चिन्तक गोविन्दप्रसाद वेदमणिले भन्नुभयो ।
मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धरतीमा अवतरित हुनुभएका श्रीकृष्णले नै पुतना, कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त गराई मानव मात्रलाई भयमुक्त बनाउनुभएको थियो ।
यसै प्रसङ्गमा श्रीकृष्णले श्रीमदभगवत् गीतामा भन्नुभएको छ, “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।” अर्थात् जब जब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दछ, त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानवरुप धारण गरेर धरतीमा जन्म लिनेछु । श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्णजन्माष्टमी पर्व मनाउने गरिएको छ ।
आजको दिन पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडाँैको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिर, हाँडीगाउँस्थित पीपलबोटभित्र रहेको कृष्णमन्दिरलगायत तथा देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
आजको दिनमा विशेष गरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउँछन् । यसोगरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रही आएको प्रा डा ऋषिराम पोख्रेल बताउनुहुन्छ । रासस