अधूरै रह्यो सरोज गोपालको सदावहार गीतको संग्रह निकाल्ने धोको


आरजु विष्ट सल्यानी,

पोखरा, ३० साउन

थोरै गीतले राष्ट्रिय चर्चा वटुल्न सफल भएका पोखराका सदावहार वरिष्ठ गायक, संकलक तथा संगीतकार सरोज गोपाल बज्राचार्यको विहीबार विहान ६४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट ग्रसित बज्राचार्यको आफ्नै निवास बागबजारमा सुतेकै अवस्थामा निधन भएको परिवारजनले जनाएका छन् । स्वर्गिय बज्राचार्य बुधबारसम्म सामान्य अवस्थामा हुनुहुन्थ्यो भने बागवजार टोल विकास संस्थाको एउटा वैठकमा सहभागि हुनु भएको थियो ।

उहाँका सदवाहार गीतहरु देउराली उकाली चढेर, नक्कलीलाई भगाई लग्यो झिल्केले, साईको घर कहाँ हो कहाँ, करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल, लगायतका गीत चर्चामा रहेका छन् । बज्राचार्य रेडियो नेपालको पुरानो गायक हुनुहुन्थ्यो भने केहि वर्ष रेडियो नेपालमै काम गर्नुभएको थियो । क्षेत्रीय प्रशारण केन्द्र मालेपाटन पोखरामा उहाँले शुरु गरेको देउराली कार्यक्रम उहाँको पालाको यस क्षेत्रको चर्चित सहभागितामूलक गायनको कार्यक्रम थियो । २०५८ सालमा पोखरामा एफएम रेडियो स्थापना भएपछि माछापुच्छ्रे एफएमका संस्थापक स्टेशन म्यानेजर भएर काम गर्नुभएको थियो ।

296721_2123010949483_4367907_n

२००७ साल जेष्ठ २० गते जन्मनुभएका बज्राचार्यका श्रीमती वरिष्ठ गायिका बाबा राणा, छोरा फिरोज र छोरी रीदम हुनुहुन्छ । बज्राचार्यका ७ जना दाजुभाई र ४ दिदि बहिनी मध्य जेठि दिदि र कान्छा भाई सोम वज्राचार्यको यसअघि नै निधन भएको थियो । जेठा दाजु सूर्यदत्त, माईला सुवर्ण, साईला बाबुराम, सुव्वालाल, पूर्ण र सोम वज्राचार्य हुनुहुन्थ्यो । एक हप्ता अगाडि रेडियो अन्नपूर्णको कार्यक्रम अग्रज पुस्तामा कुराकानि गर्दै बज्राचार्यले जीवनको अन्तिम इच्छा आफ्ना पूराना गीतहरुको संग्रह निकाल्ने र रेडियो नेपालमा गाउँदाका बखत हराएका गीतलाई पुनः रेकर्ड गरेर ल्याउनु रहेको बताउनु भएको थियो । तर उहाँको धोको पूरा हुन सकेन । गीत छनौट गरेर मात्रै गाउने स्वभावका गायक वज्राचार्य रीमिक्स गरेर गाउने परिपाटीप्रति असन्तुष्टि व्यक्त गर्नुहुन्थ्यो ।

स्वर्गिय बज्राचार्यले आफ्नो जीवन कालमा ४० वढि गीत गाउनु भएको छ । ति गीत मध्य नक्कलीलाई फकाई लग्यो झिल्केले बोलको गीत वजाउन प्रतिवन्ध लगाईएको थियो । २०३४ सालमा पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना गर्दा उहाँ संस्थापक अध्यक्ष बन्नुभएको थियो भने उहाँको अग्रसरतामा पोखरामा औपचारीक रुपमा स्टेज कार्यक्रमको सुरुवात भएको थियो । स्वर्गिय वज्राचार्यको पहिलो रोजाईको वाजा मुखले बजाउने माउथ हार्मोनियम, हाते हार्मोनियम र तवला थिए ।

 

वज्राचार्यले स्वर्गिय गायक अरुण थापालाई पोयुसापको सदस्य बनाउन, गायनमा अगाडी वढाउन अग्रणी भूमिका निर्वाह गरेको पाईन्छ ।थापाको पोखरामा पहिलो स्टेज कार्यक्रम आयोजना तथा तत्कालिन समयमा अरुणलाई रेडियो नेपालको राष्ट्रव्यापि गायन प्रतियोगितामा सहभागि गराउन उहाँले पहल गर्नुभएको थियो । नेपालका सिमित गायक मध्य राजारानीले फर्मायस गरेर गीत सुन्न चाहेका गीतका गायक सरोज गोपाल पनि एक पर्नुहुन्छ । तत्कालिन अवस्थामा राजा वीरेन्द्र र परिवारका सदस्यले उहाँका गीत फमाईस गरेर सुनेका थिए । बज्राचार्यको विहीबारै सेती नदीस्थित गाइघाटमा अन्त्येष्टी गरिएको छ । अन्त्येष्ठि अघि बागबजारबाट शवयात्रा निकालिएको थियो भने धर्मशिला वुद्ध बिहारमा केहि मिनेट श्रद्धाञ्जलीको लागि राखिएको थियो ।