सिन्धुलीगढी पुनर्निर्माणका लागि स्पेनबाट झन्डै ३ लाख रुपैयाँ सहयोग


बार्सिलोना।सिन्धुलीगढी जीर्णोद्धार एवं पुनर्निर्माण सहयोगका लागि स्पेनबाट झन्डै ३ लाख रुपैयाँ संकलन भएको छ। नेपाली चलचित्र प्रदर्शन तथा स्पेनबासी नेपालीहरुको सहयोगबाट सो रकम संकलन भएको हो। बुधबार बार्सिलोनामा बहुचर्चित नेपाली चलचित्र छक्का पन्जा ३ प्रदर्शन गरियो। चलचित्रको प्रदर्शनीबाट भरपुर मनोरञ्जनका साथै सहयोग समेत जुटेको आयोजकले जनाएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सिन्धुलीगढी जीर्णोद्धार एवं पुनर्निर्माण गुरुयोजना सुरु गरेपछि सिन्धुलीगढी टाक्सफोर्स टिमले अर्थ संकलन अभियान जारी राखेको छ। टाक्सफोर्स सदस्यहरुमा स्पेनबाट मुक्त बहादुर गुरुङ र सन्तोष श्रेष्ठ रहेका छन्।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका गुरुङले नेपाली समुदायको उत्साहजनक सहभागिताले सिन्धुलीगढी पुनर्निर्माण अभियानमा ईटा थपिएको बताए। हाल जीर्ण अवस्थामा रहेको सिन्धुलीगढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचना पुनस्र्थापना गर्ने उद्देश्य एनआरएनएले राखेको छ।

टाक्सफोर्स सदस्य श्रेष्ठले चलचित्रबाट मनोरञ्जन मात्र नभई एनआरएनको सिन्धुलीगढी पुनर्निर्माण अभियानमा समेत सहयोग पुर्याउन पाएकोमा खुशी ब्यक्त गरेका छन्। उनले भने,”एनआरएनका हरेक अभियानमा हामीले सहयोग गर्दै आएका छौ,सिन्धुलीगढीमा पनि हाम्रो नाम जोड्न पाउनु सबै स्पेनबासीका लागि नै गर्व हो।”

कथावस्तु, गीतसंगीत, मौलिकताको आधारमा पनि निकै अब्बल मानिएको  ‘छक्का पन्जा ३’ लाई स्पेनबासी नेपालीहरुले पनि औधी रुचाएका छन्।