ईनासको सातौँ युरोपियन कार्यक्रम बेल्जियममा


१५ डिसेम्बर,स्पेन / अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले हरेक बर्ष आयोजना गर्दै आएको युरोपस्तरीय कार्यक्रम यसपटक युरोपको राजधानी बेल्जियमको आन्त्वेर्पेन शहरमा हुने भएको छ।  

आगामी मार्च महिनाको ३० र ३१ तारिख बेल्जियममा हुने कार्यक्रम ईनासको सातौं  यूरोप महादेशस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता एवं चौथो इनास यूरोप महादेशस्तरीय एकल नेपाली गायन प्रतियोगिता हो। साथै सातौँ यूरोप क्षेत्रीय बैठकको पनि आयोजना गरिएको ईनास युरोपले जनाएको छ।

युरोपमा नयाँ प्रतिभा प्रस्फुटनका निम्ति सुनौलो मंच बन्दै आएको ईनासको कार्यक्रममा कलाकारहरुले बिभिन्न देशहरुबाट सहभागिता जनाउने भएका छन्। स्विट्जरल्याण्ड, जर्मनी, स्पेन, लक्जेम्बर्ग, पोल्याण्ड, ईटाली, बेलायत, फिनल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स, पोर्चुगल, चेक रिपब्लिक, अस्ट्रिया जस्ता युरोपियन मुलुकहरुबाट नेपाली कलाकारहरुले भाग लिने भएका हुन्।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बेल्जियम एबं ईनास युरोपको आयोजनामा सम्पन्न हुने कार्यक्रमलाई अझै ब्यबस्थित रुपमा सम्पन्न गर्न आवश्यक तयारीको लागि ईनास युरोपले आगामी जनवरी 5  र ६  तारिखका दिन बेल्जियमको आन्त्वेर्पेनमा सम्पूर्ण ईनास युरोपका अध्यक्ष तथा प्रतिनिधिहरुलाई समेत छलफलका लागि बोलाएको ईनास बेल्जियमका अध्यक्ष श्याम श्रेष्ठले जानकारी गराएका छन् । 

बेल्जियमको युरोप स्तरीय यस बिशेष कार्यक्रममा भाग लिने कलाकारहरुले आफु रहेको ईनास राष्ट्रिय समितिमा सम्पर्क राखी अडिसनमा भाग लिएर छनौट हुनु पर्नेछ भने कार्यक्रम सम्बन्धि थप जानकारीहरु आगामी दिनमा सार्वजनिक गर्दै जानेकुरा उक्त कार्यक्रमका संयोजक समेत रहेका ईनास युरोपका संयोजक अर्जुन काफ्लेले जनाएका छन्।   

कार्यक्रमबारे पूर्ण बिबरण 

मिति: 30 मार्च 2019 

कार्यक्रमको प्रकृति: सातौँ इनास युरोपियन क्षेत्रीय भेला (बैठक)

स्थान: Cultuurcentrum De Kern

Kern 18, 2610 Wilrijk, Antwerpen

समय: दिनको 3 बजे  ।

मिति: 31  मार्च  2019 

कार्यक्रमको प्रकृति: सातौँ इनास युरोप महादेश स्तरीय नृत्य र चौथो इनास युरोप महादेश स्तरीय गायन प्रतियोगिता सहित वृहत सांस्कृतिक कार्यक्रम।

स्थान: Cultuurcentrum De Kern

Kern 18, 2610 Wilrijk, Antwerpen

समय: दिनको 2  बजे।