सुश्री सम्पत्ति करियरको महत्वपुर्ण चलचित्र : सलोन


राजाराम पौडेल,पोखरा –

नेपाली चलचित्रका अहिलेका व्यस्त नायक सलोन बस्नेतले मंसिर २८ गतेबाट अल नेपाल रिलिज हुने चलचित्र सुश्री सम्पत्ति आफ्नो करियरको महत्वपुर्ण चलचित्र भएको बताएका छन् । चलचित्र छायांकनको क्रममा पोखरामा रहेका उनले चलचित्रको विष्यवस्तु अहिलेसम्म बनेका नेपाली चलचत्रिको भन्दा विल्कुलै भिन्न रहेको दावी गरे । हुकुम बक्सियोस् गीत बाहेक सम्पुर्ण छायांकन पोखरामा गरिएको यस चलचित्रको छायांकनको समय झनै रमाइलो बनेको उनको अनुभव छ ।
‘३५ दिनको छायाकंन अवधि रमाइलोमा नै सकियो, समय बितेको पत्तै भएन’ उनले भने । नायिका सारा सिर्पालीसँग पहिलोपटक काम गरेको भएपनि असहज भने नभएको उनले खुलाए । अर्का कलाकार विनोद गौतम पहिल्यैदेखिको साथी भएको कारण समेत काम गर्न मज्जा आएको उनको भनाइ छ । निर्देशक सुव्रतराज आचार्यको व्यवहारका कारण काम गर्न झनै उत्पेरित हुने गरेको अनुभव समेत उनले सुनाए । यसअघि अर्धकट्टी चलचित्र निर्देशन गरिसकेका युवा निर्देशक सुव्रत आचार्यले निर्देशन गरेका म्युजिक भिडियोले नयाँ–नयाँ रेकर्ड बनाइरहेका छन् । यो चलचित्रको कथा पनि सुव्रतलेनै लेखेका हुन् ।


राउल इन्टरटेनमेन्टको ब्यानरमा रमेश त्वयनाले निर्माण गर्ने यो चलचित्र सामाजिक हास्यप्रधान चलचित्र हो । सलोन बस्नेत, सारा सिर्पालि, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयनन्द लामा, विशारद बस्नेत, सुनिता श्रेष्ठ आदी कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की स्पेशल भुमिका मार्फत चलचित्रमा देखिएकी छन् ।
अभिमन्यु निरवीको पटकथा रहेको चलचित्रलाई अर्जुन तिवारीले खिचेका हुन् । सुश्री सम्पत्ति चलचित्र हुकुम बक्सियोस् गीत र ट्रेलरका कारण समेत चर्चामा छ । चलचित्रमा सरल कथावस्तुलाई मनोरञ्जनात्मक शैलीमा देखाइएको निर्देशक सुव्रतराज आचार्यले बताए ।